प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाकाे निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाकाे निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो ।

रास्वपाका एक सांसदका अनुसार यसअघी प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निर्णय भएको छ,’ उनले भने ।

आजै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए ।

कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् । रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय गरेको छैन ।