सभामुखबाट प्रेस स्वतन्त्रतामा आघात पर्‍यो : सांसद खतिवडा

सभामुखबाट प्रेस स्वतन्त्रतामा आघात पर्‍यो : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले पत्रकारबारे दिएको अभिव्यक्तिबारे संसद् बैठकमा प्रश्न गरेका छन् ।

सांसद खतिवडाले पत्रकारका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका हुन् । बैठकमा सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिका प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।’ सभामुख घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसामु आफ्नै कार्यकक्षमा शुक्रबार पत्रकारहरूका विषयमा दिएको अभिव्यक्ति विवादित भएको थियो । सभामुखको उक्त विवादित अभिव्यक्तिमाथि संसद्‌मा नै प्रश्न उठेको हो ।