एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै

एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै

पाँच प्रदेशमा पुग्यो प्रश्नपत्र



काठमाडौं । सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ ।

चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि पाँच प्रदेशमा प्रश्नपत्र पुर्‍याइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशमा भने तीन दिनभित्र प्रश्नपत्र पुर्‍याउनेगरी तयारी भइरहेको बताइएकाे छ ।

यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा दुई लाख ५५ हजार ९१३ जना गरी कूल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १५ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

एसईईमा सहभागी हुने पाँच लाख बढी विद्यार्थीका लागि दुई हजार ३८ वटा परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । यसवर्ष कर्णालीबाट सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् ।