आलोपालो प्रणालीका आधारमा सबै प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री

आलोपालो प्रणालीका आधारमा सबै प्रदेश सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री



गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् ।

मंगलबार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुर्नगठन हुने बताएका हुन् ।
‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने ।’ प्रचण्डले भने,‘ त्यसबाट पनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रुपमा अगाडि बढाउँछौं ।’

उनले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको जानकारी गराए । उनले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ ।’

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बृहत्तर बैठक छिट्टै आयोजना गर्ने उनले बताए । उनले भने, ‘विकासलाई गति दिन र विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-सालिटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, सासद हितराज पाण्डे समेत साे कार्यक्रममा पुगेका थिए ।

यस योजना अन्तर्गत पन्थहिटीदेखि सालिटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ ।

वूड हिल-लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।