भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ओखलढुंगा

भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ओखलढुंगा



काठमाडौं । भौतिक पूर्वाधार निर्माणमा पछि परेको ओखलढुंगामा नयाँ योजनाहरु धमाधम निर्माण सम्पन्न हुन थालेका छन् । केन्द्र र प्रदेश सरकारको समन्वयमा भइरहेको भौतिक पूर्वाधार निर्माणले ओखलढुंगाका जनताले छिट्टै सुविधा उपभोग गर्न पाउने बताइएको छ ।

चैतको पहिलो साता कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुंगामा दुई दिन बिताए । उनी दर्जनौं योजना र कार्यक्रम बोकेर ओखलढुंगा पुगेका थिए । रुम्जाटार बौद्ध गुम्बा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्की, प्रदेश सांसद प्रदीप सुनवार, पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, डा. गणेशबहादुर गुरुङलगायत दर्जनौं जनप्रतिनिधि र समाजसेवीहरुको सहभागी भएका थियो । गुम्बा उद्घाटनबाट सुरु भएको उनको कार्यक्रम तलुवामा रहेको सामुदायिक भवन उद्घाटन गरेर सम्पन्न भयो ।

त्यसपछि सिद्धिचरण नगरपालिका–५ मा रहेको यातायात व्यवस्था कार्यालयको आयोजनामा हुने सवारी चालक अनुमति पत्रको ट्रायल सेन्टर रुम्जाटार अटो मोवाइल्समा उद्घाटन कार्यक्रममा सहभागी भए । सवारी लाइन्सेन्स लिनका लागि काठमाडौं, लाहान, जनकपुर, विराटनगर धाउनुपर्ने ओखलढुंगा, खोटाङ र सोलुका जनताले अबदेखि ओखलढुंगाको रुम्जाटारबाटै सवारी लाइन्सेन्स पाउने छन् । यातायात कार्यालय रुम्जाटारमा स्थापना भएपछि सुस्ताएको रुम्जाटारको आर्थिक चहलपहल बढ्ने विश्वास गरिएको छ ।

बैंक तथा बीमा कम्पनीहरुको शाखा कार्यालय स्थापना एवम् होटल व्यवसायमा चलायमान हुनेछ ।

भगवती मन्दिर रुम्जाटारको पार्क उद्घाटन, रुम्जाटार गुम्बाको लामा क्वाटर भवन उद्घाटन, तीनवटा सिँचाई आयोजनाको स्वामित्व हस्तान्तरण, शहरी विकास तथा भवन कार्यालयको उद्घाटन मुख्यमन्त्री कार्कीले गरे ।

ओखलढुंगा जिल्ला माथिल्लो सगरमाथा क्षेत्रकै शैक्षिक हव बन्दै गएको छ । सिद्धिचरण नगरपालिका–१२ स्थित शित्तलपुरमा निर्माण हुन लागेको मनमोहन प्राविधिक तालिम केन्द्र भवनको मुख्यमन्त्री कार्कीले शिलान्यास गरे ।

दुई दिन बसाइका क्रममा मुख्यमन्त्री कार्कीले ठाडे–जन्तरखानी सडक खण्डनको र निशंखे–भदौरे सडक खण्डको उद्घाटन पनि गरेका छन् । तोकिएकै समयभित्र सम्पन्न भएका उक्त सडकहरु भुजेल निर्माण सेवा ओखलढुंगा र ओएसिस इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रा.लिले गरेको हो ।

यस्तै तलुवा सामुदायिक भवनको उद्घाटनपछि मुख्यमन्त्री कार्की विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भए । उनले पार्टी कार्यालयमा आयोजना भएको छलफल कार्यक्रम तथा जिल्लामा रहेका कार्यालय प्रमुखलाई बिना झन्झट जनताको काम छिटो डेलिभरी दिन निर्देशनसमेत दिए ।