वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा दिन सुरु



काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका लागि बाटो खुलेको छ ।

पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।

आज आयोजित एक बिशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर वाटो खुल्ला गरेका हुन । 

प्रधानमन्त्रीले परिचयपत्र बितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–०७९’ जारी गरिसकेको थियो । यसलाई कार्यान्वयनमा लगिएको कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले वताए ।

‘अब विदेशमा रहेका कुनै पनि नेपाली श्रमिक सामाजिक सुरक्षाको दायराबाट बाहिर बस्नुपर्दैन । घरमा काम गर्ने घरेलुदेखि प्रतिष्ठानमा कार्यरतले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने व्यवस्था मिलाइएको छ,’ कोषका अध्यक्षसमेत रहेका श्रम सचिव आर्यालले भने ।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । कोषमा आबद्ध हुनका लागि कामदारले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार १ सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्न पाइन्छ । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाइनेछ ।

वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइनेछ । ६० वर्षपछि आजीवन पेन्सन पाइनेछ ।