हुम्लाको विशिष्ट संस्कृति ‘माने पर्व’ (फोटोफिचर)

हुम्लाको विशिष्ट संस्कृति ‘माने पर्व’ (फोटोफिचर)

तीन सय वर्षअघि देखिको मौलिक संस्कृति



हुम्लाका आदिवासी जनजातिहरूले अन्य धेरै चाडपर्वहरू मनाउने गरे पनि लामा समुदायले मनाउने एक मात्र चाड माने हो । हुम्लामा माने पर्वमा देवताको पुजा, ढोल बजाउने, नाच्ने–गाउने, भोज मनाउने र रमाइलो गर्ने हो ।

माघ शुक्ल चतुर्दशीको दिनदेखि सुरु हुने यो पर्व तीन दिनसम्म मनाइन्छ । यो पर्व हुम्लाको चारवटा गाउँमा हर्षोल्लासका साथ मनाइन्छ । बुरौसे गाउँबाट सुरु हुने यो पर्व निमाटाङ, तोर्पा र बरगाउँमा बेग्लाबेग्लै समयमा पर्व मनाइन्छ । स्थानीयका अनुसार यो पर्व मुख्यतया किसानका लागि रमाइलो र फुर्सदको समय हो ।

यो हाम्रो तीन सय वर्षअघि देखि चल्दै आएको मौलिक संस्कृति हो । यो माथिल्लो हुम्लामा बस्ने लामा समुदायको प्रतिक्षित पर्व हो । ‘हामी यसमा हृदय र आत्माबाट संलग्न छौं’, फुन्जोक लामाले भने ।

केही महिनापछि हामी हाम्रो खेतमा व्यस्त रहन्छौं । हामीले खेती गर्नुपर्छ, त्यसपछि कटनी गर्छौं । फसल काटिसकेपछि मात्रै फुर्सद हुन्छ । त्यसैले यो पर्वलाई ठूलो स्वागत गरिन्छ, लामाले भने ।

उनका अनुसार यो पर्व औपचारिक रूपमा तीन दिन मात्रै मनाइए पनि वास्तवमा यो पर्व लामो समयसम्म चल्ने गरेको छ । गायन र नाच तीन दिनमा हुने भए पनि भोजभतेर, साथीभाइ र परिवारसँग भेटघाट हप्तौंसम्म चल्छ ।

तीन दिनको अवधिमा, हामीसँग पछ्याउनको लागि विशेष तालिकाहरू छन् । हामी परम्परागत पोशाक र सजावट निस्कन्छौं र त्यसपछि, हामी चाडपर्वको लागि घरमा मानिसहरूलाई बोलाएर भोज गछौंं, लामाले भने ।

‘अन्य स्वादिष्ट परिकारहरु मध्ये, स्थानीय रक्सी र मीठो खानेकुराहरु हुन्छन् । त्यसैगरी, पूजामा अर्पण गर्नुपर्ने विशेष चीजहरू छन, पूजाका सामान र छ्याङ हाम्रा पुजारीलाई दिइन्छ । उनीहरुले हरेक घरबाट यस्ता सामान पाउँछन् । यसले हाम्रो भाइचारा र एकतालाई बलियो बनाउँछ’, लामाले भने ।

यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन् । सिमकोटका जंग लामाले भने, ‘पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन् ।’ परम्परालाई जोगाउनका लागि काठमाडौंमा पनि यस पर्वलाई मनाउन सुरु गरिएको लामाले बताए ।

‘माने पर्वको सबैभन्दा रोचक पक्ष भनेको महिला र पुरुषको सामूहिक नृत्य हो । यो नृत्य गर्न सहभागीहरूसँग सीप हुनुपर्छ । यो जोकसैले गर्न सक्दैन । तपाईंले बाजाको ताल र चरणहरू जान्नुपर्छ । हामीसँग यहाँ केही अनुभवी नर्तकहरू छन् । यो निकै पुरानो कला हो’, लामाले भने ।

‘पर्वमा पुराना गहना, हस्तकलाका सामान प्रदर्शनी गरिन्छ । यो निकै रमाइलो लाग्छ’, लामाले भने– ‘नाच र भेलाबाहेक, हामी रमाइलो खेलहरूमा पनि संलग्न हुन्छौं । उत्सवको बारेमा सबै कुरा धेरै सुन्दर छन् । यसलाई राम्रोसँग प्रवद्र्धन गर्न सक्यौं भने यसलाई जोगाउन मात्र नभई पर्यटकलाई हुम्लामा आकर्षित गर्न सकिन्छ ।’
माने पर्वमा खिचिएका तस्बिरहरु अविनाश लामाबाट लिइएका हुन् ।