काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गते आईपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्रसम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षेत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ ।
यस हाइड्रोपावरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया