बागमती प्रदेशसभा बैठक जारी, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिदै

बागमती प्रदेशसभा बैठक जारी, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिदै



हेटौंडा । बागमती प्रदेशसभाको बैठक जारी छ । दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक १ः३० बजेबाट सुरु भएको हो ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आफ्नो धारणा राख्ने समय पनि निर्धारण गरिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका थपलियाले संसदबाट आफ्नो धारणा राख्दै सरकारबाट बाहिरिने घोषणा समेत गर्ने बताइएकाे छ । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिँदै छन् । प्रदेशमा पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले गत फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।