बागमतीमा सदनमै बुझायो एमालेले मुख्यमन्त्रीलाई राजीनामा

बागमतीमा सदनमै बुझायो एमालेले मुख्यमन्त्रीलाई राजीनामा

कांग्रेसले मुख्ममन्त्री जम्कट्टेललाई विश्वासको मत दिने



हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन् ।

प्रदेश सभामा बोल्दै नेता थपलियाले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । उनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने समेत बताएका छन् ।

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई समर्थन दिने भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलको नेता बहादुरसिंह लामाले प्रदेश सरकारलाई समर्थन दिँदै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले केही समयअघि देशमा निर्माण भएको अस्वभाविक गठबन्धन ढलेको टिप्पणी गरे । नेता लामाले वर्तमान अवस्थामा बनेको सत्ता गठबन्धनले देशलाई स्थिरता तिर्फ अघि बढाउने धारणा व्यक्त गरे ।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो भने माघ ११ गते सरकारले पूर्णता पाएको थियो ।

यसअघि राप्रपाका ३ जना मन्त्रीले फागुन १३ गते प्रदेश सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएका थिए । राप्रपा सरकारबाट बाहिरिएका कारण मुख्यमन्त्री जमकट्टेलले शुक्रबार सदनबाट दोस्रोपटक विश्वासको मत लिदैछन् ।