लुम्बिनीमा आफ्नै नेतृत्त्वमा सरकार बनाउने कांग्रेसको निर्णय

लुम्बिनीमा आफ्नै नेतृत्त्वमा सरकार बनाउने कांग्रेसको निर्णय



बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो। प्रदेश सभामा कांग्रेसका २७ सांसद् छन् । कांग्रेसका कतिपय नेताहरूले शंकर पोखरेल नेतृत्वको सरकार पुनर्गठन हुँदा माओवादीको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसले यसपटक सरकारको नेतृत्व पाउनुपर्ने बताएका छन् ।

यहाँ कांग्रेस नेतृत्वको सरकार गठन भए डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन् । माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । प्रदेश सभामा माओवादीका सभामुख बाहेक १० सांसद छन् । माओवादी केन्द्रले पनि सरकार गठनका विषयमा बिहीबार बैठक बसे पनि कुनै निर्णय लिन सकेन ।

बैठकमा माओवादीबाट मुख्यमन्त्री नबन्ने अवस्थामा आए अहिलेकै सरकारलाई समर्थन दिने विषयमा सांसदहरूले कुरा उठाएका थिए ।

अहिले लुम्बिनी प्रदेशमा माओवादीसहित साना दलको समर्थनमा एमालेका लिला गिरी नेतृत्वको सरकार छ ।