लमजुङ । शैक्षिक सत्र ०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । मनाङमा छात्रा ३९ र छात्र २३ परीक्षामा सहभागी हुनेछन् ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जिल्लाका तीन विद्यालयमा परीक्षा केन्द्र तोकिएको उनी बताउँछन् ।
उनका अनुसार चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय, थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालय र मनाङ ङिस्याङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । खुलातर्फबाट छ छात्रले यस शैक्षिकसत्रमा परीक्षा दिन फाराम भरेका छन् ।
लोकप्रियबाट ६ खुलासहित गरी १७ छात्रा र सात छात्रले परीक्षा दिने छन् । प्रकाशज्योतिबाट ९ छात्रा र ८ छात्र तथा अन्नपूर्णबाट तीन छात्रा र दुई छात्र परीक्षामा सहभागी हुने छन् ।
लोकप्रिय र प्रकाशज्योतिका एक–एक विद्यार्थीले रजिस्ट्रेशन फाराम भर्न अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । ऐच्छिक प्रथमतर्फ मनाङमा प्राविधिक, अर्थशास्त्र र भूगोल विषय पढाइ हुन्छ । त्यस्तै, ऐच्छिक द्वितीयतर्फ बाली विज्ञान, लेखा र शिक्षा विषयको पठनपाठन हुने गरेको छ ।
प्रतिक्रिया