डा. महत अर्थमन्त्री बन्ने चर्चासँगै पूँजी बजारमा दोहोरो अंकको सुधार

डा. महत अर्थमन्त्री बन्ने चर्चासँगै पूँजी बजारमा दोहोरो अंकको सुधार



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने चर्चा सुरु भएपछि ओरोलो लागेको पूँजी बजारमा एकाएक सुधार देखिएको छ । पूँजी बजारप्रति सकारात्मक सोच भएका डा. महतलाई नेपाली कांग्रेसले अर्थमन्त्री बनाउने चर्चा चलेको छ ।

साताको कारोबारको पहिलो दिन आइतबारसम्म सेयर बजार ओरालो लागेको थियो । नेप्से परिसूचक २६.८७ अंकले घटेको थियो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा झरेको थियो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको थियो । १९३ कम्पनीमा ओरालो लागेको थियो ।

सोमबार डा. महत अर्थमन्त्री हुने चर्चासँगै सेयर बजार परिसूचक नेप्से १७ अंकमाथिको वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार हिजो नेप्से सूचक १७.७० अङ्कले बढ्दै १९ सय ६ अङ्कको विन्दुमा उक्लिएको थियो । अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो । सेन्सेटिभ इन्डेक्स समेत २.०४ अङ्कले बढ्दै ३५८.०३ अङ्कमा उक्लिएको थियो । १७ अङ्कमाथिले नेप्से बढेको दिन १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार १७.७० अंक बढेको परिसूचक नेप्से मंगलबार थप १२.१ अंक बढेसँगै १९१८ अंकमा कायम भएको छ । दिउँसो १९३६ अंकसम्म पुगेको बजारमा त्यसपछि आपूर्ति बढ्न जाँदा वृद्धिदर खुम्चिन पुग्यो । कुल १ अर्ब ४४ करोडको कारोबार भएको छ ।

पूँजी बजारप्रति सकारात्मक सोच राखेकै कारण डा. महतको नाम अर्थमन्त्री बन्ने चर्चासँगै बजारमा एकाएक सुधार देखिएको विज्ञहरु बताउँछन् । अमेरिकाको इलिनोइस राज्यस्थित कार्बाेन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका महतले इलिनोइसकै उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसि इकोनोमिक्स) मा स्नातकोत्तर गरेका छन् । यी सबै उनले फूलब्रायट छात्रावृत्तिमा अध्ययन गरेका हुन् । डा. महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।

कमजोर राजस्व सङ्कलन, बढ्दो आन्तरिक ऋण र पूँजी बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वमा धेरैको चासो देखिएका बेला डा. महत मन्त्री बन्न लागेका हुन् । अर्थतन्त्र अप्ठ्यारो स्थितिमा छ, लगानी जोखिममा छ, प्रतिफल कम छ । माग र आपूर्तिमा समस्या छ । यो परिवेशमा बजारमा देखिएको नकारात्मक भावनालाई सकारात्मकतामा बदल्न डा. महत सफल हुन्छन् कि हुँदैनन्, त्यो हेर्न केही समय पर्खिनु पर्ने हुन्छ ।