शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश

शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश

बारा–२ का लागि उम्मेदवारी घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत पार्टी रोजेको उनले बताए ।

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

कुसवाह अब बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने तयारीमा छन् । आफू स्वतन्त्र भएर चुनाव लड्न खोजेको तर जनताले पार्टीबाट चुनाव लड्न आग्रह गरेकाले जनमत पार्टी प्रवेश गरेर चुनाव लड्ने तयारी गरेको बताए ।

जनमत पार्टीका अध्यक्ष डा. सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भने ।

उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफूलाई मधेश प्रदेशमा मुख्यमन्त्री दिएपनि बारा २ नछाड्ने घोषणा गरे । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री र बारा –२ लाई एकसाथ जोडर हेर्न हुँदैन ।’ बारा २ मा सत्य र असत्य बीचमा लडाई हुने भएकाले गठबन्धनले उम्मेदवार उठाए पनि आफूहरु पछाडि नहट्ने उनले बताए ।