उसको एक प्रश्नले
मेरो पृथ्वी एक फन्को यसरी घुमाइदियो
जसरी पहिले कहिल्यै घुमेको थिएन ।
उनले जानेर गरिन या आवेशमा
त्यो म जान्दिन
तर म यो जान्दछु कि उ बिना यो संसारको
परिकल्पना गर्नपनि असक्षम छु म
कसरी बताउ उसलाई म कि
म भनेको तिमी हुँ तिमी भनेको सिङ्गो म हुँ
सायद तिम्रो नजर साना-साना कुरा अल्झिएन्न
र मेरा सामु यो चट्याङ्ग बर्सियो ।
अरे लाटि,
तिमीलाई सातजन्मको कसम खाएर
ल्याएको भुल्यौ
या हरेकपल्ट गरेको प्रेममा शंका छ तिमीलाई
निसङ्कोच म संसार सामु तिमीलाई आफ्नो
भनेर जताइराख्दा
तिम्रो सिन्दुरले तिमीलाई जताइ दिएकै छ मेरो आभाष
होला मेरा केही हठहरूमा तिमीले राख्यौं कुण्ठाहरू
तर यो हैन कि म नहुनु तिम्रो लागि सबल पक्ष हो ।
तिमी नयन हौँ त म दृष्टि
तिमी सौभाग्य हौँ त म परिचय
तिमी आधी शक्ति हौँ त म आधा अंश
तिम्रो आकासको
जुन पनि म हुँ
घाम पनि म हुँ
म बिना तिम्रो आकासको परिकल्पना गरि मात्र हेर
तिम्रो प्रश्नले तिमीलाई नै बिझ्ने छ ।
तिमी हुनु भनेको म हुनु हो
म हुनु भनेको संसार हुनु हो
र हाम्रो संसारमा धेरै छाल आँउछन्
हामीले यात्राको डुङ्गा अझै कसिलो बनाउँनु छ
बस तिमी संयम हुनु समय आफैँ पल्टिन्छ ।।
प्रतिक्रिया