मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

सरकारमा जान कांग्रेस आन्तरिक छलफलमा



जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए । मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।

एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ । मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी एमालेका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरूलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार एमालेका मन्त्रीहरू मंगलबार अबेरसम्म राजीनामा नगरे पदमुक्त गरिदिने तयारी पनि छ । उनले सरकारबाट एमालेका मन्त्री हटाएर कांग्रेसलाई भित्र्याउने तयारी गरिरहेका छन् ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री छन् ।

एमालेका मन्त्री हटाएर त्यस ठाउँमा कांग्रेसलाई ल्याउने तयारी भइरहेको मुख्यमन्त्री यादवनिकट स्रोतले जनाएको छ । क–कसलाई मन्त्री बनाउने भनेर कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ ।