दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री

दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने बताए । उनले अब सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए ।

उनले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने बताए ।

उनले भने, ‘मैले प्रधानमन्त्री बनेर अहिले सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण रुपमा छ । अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ। कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महशसु गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने बताए।