वार २ मा टाइगरको स्थानमा जुनियर एनटीआर

वार २ मा टाइगरको स्थानमा जुनियर एनटीआर



मुम्बई । यशराज फिल्मस्को स्पाई युनिभर्सले निर्माण गर्न लागेको फिल्म ‘वार २’मा तेलुगु सुपरस्टार जुनियर एनटीआरले अभिनय गर्ने भएका छन् । अघिल्लो संस्करणमा ऋतिक रोशन र टाइगर श्राफको अभिनय थियो । यसपटक एनटीआरले टाइगरलाई विस्थापित गर्दै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।

फिल्म ‘वार’मा निर्देशक सिद्धार्थ आनन्दको निर्देशन थियो । अब ‘वार २’मा भने आयन मुखर्जीले निर्देशनको कमाण्ड सम्हाल्नेछन् । एक्सनपूर्ण फिल्ममा दर्शकले एनटीआर र ऋतिकको घम्साघम्सी हेर्न पाउनेछन् ।

‘यो एपिक एक्सन एडभेन्चर फिल्ममा एनटीआरको प्रवेशले फिल्म युनिट र दर्शक उत्साहित छन् । एकै देशको दक्षिण र उत्तरका दुई ठूला फिल्म उद्योगका स्टारको अभिनयले फिल्मको हाइट थप उचो बनेको छ’, फिल्म निकटले भनेका छन् ।

फिल्ममा एनटीआर भिलेनको चरित्रमा हुनेछन् । फिल्म ‘पठान’ पछि ‘वार २’ स्पाइ युनिभर्सको अर्को महत्वकांक्षी प्रोजेक्ट हुनेछ । ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो ।

स्पाइ युनिभर्सले सलमान खानको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा हे’, सन् २०१९ मा ऋतिक रोशन र टाइगर श्राफको ‘वार’, सन् २०२२ मा शाहरुख खानको ’पठान’ जस्ता फिल्म निर्माण गरिसकेको छ । युनिभर्सका आउन लागेका फिल्ममा सलमान खानको ‘टाइगर ३’ र ऋतिक रोशनको ‘वार २’ हो ।