रविविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

रविविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश भने दिएन ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

रिटमा निवेदकले करिब ४५ मिनेट र लामिछानेको तर्फबाट उपस्थित कानुन व्यवसायीले १५ मिनेट बहस गरेका हुन् ।

बहसमा रिट निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता रमण कर्ण, अधिवक्ता राधिका खतिवडालगायतले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु नपर्ने निर्णय बदर गर्न माग गरेका थिए ।