‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश

‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णय विरुद्धको रिटमा कारण देखाउ आदेश



काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । 

सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो । राज्य र माओवादीबाट पीडितहरू ज्ञानेन्द्र आरण, पूर्णप्रसाद पौडेल, गंगामाया अधिकारी, रिता कार्की, कल्याण बुढाथोकी लगायतले फागुन १ मा बिदा दिने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 

उनीहरूले सरकारको निर्णय खारेज गर्न माग गरेका थिए । पीडितको माग बमोजिम किन आदेश दिनु नपर्ने हो भन्दै सर्वोच्चले कारण मागेको हो ।

माओवादी सशस्त्र द्वन्द्व शुरू भएको फागुन १ गतेलाई मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’का रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यससँगै सर्वोच्चले यस रिटमा अग्राधिकार दिएको छ। अब यो रिटलाई प्राथमिकतामा राखेर सुनुवाइ गरिनेछ ।