चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास



काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।

चिनियाँ चेतावनी बाबजुद साईले अमेरिकी सभामुख भेटेकी हुन् । भेटअघि नै चीनले साईले अमेरिकी सभामुख भेटेको खण्डमा ताइवानले नराम्रो नतिजा भोग्ने धम्की दिएको थियो ।

बुधबार क्यालिफोर्नियामा साई र अमेरिकी सभामुख म्याकार्थीबीच भेटवार्ता भएको बीबीसीले जनाएको छ । सो क्रममा साईले ताइवान र अमेरिकाबीच ‘बलियो र अद्वितीय साझेदारी’ भएको बताएकी थिइन् । म्याकार्थीले भने अमेरिकाले ताइवानलाई हतियार बेच्न जारी राख्ने प्रतिक्रिया दिएका थिए ।

यससँगै रुष्ट चीनले ताइवान वरपर युद्धपोतहरू युद्ध अभ्यासका लागि पठाएको छ । गत वर्ष अमेरिका पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा पनि चीनले ताइवान ६ स्थानमा घेरेर युद्ध अभ्यास गरेको थियो ।

चीनले ताइवानलाई आफूबाट अलग भएको टापु ठान्छ । यद्यपि, ताइवानले आफू एक सार्वभौम राष्ट्र भएको बताउँछ । ताइवानसँग व्यापारिकसँगै राजनीतिक सम्बन्ध राख्दा तेस्रो राष्ट्रले आफूसँग अनुमति लिनुपर्ने चीनको भनाइ छ ।

तर, ताइवानले चीनको ‘एक देश दुई प्रणाली’ आफ्नो देशमा लागू नहुने निरन्तर रूपमा बताइरहेको छ । केही वर्षयता ताइवान र चीनबीच युद्धको अवस्था नै निम्तिएको छ । खासगरी अमेरिकाले ताइवानलाई शक्तिशाली हतियारहरू बेचिरहँदा चीन ताइवानप्रति झनै क्रुद्ध बन्दै गइरहेको अवस्था छ । चीनले ताइवानमा कुनै पनि बेला आक्रमण गर्न सक्ने आकलन गरिएको छ ।

वास्तवमा संयुक्त राज्य अमेरिका र ताइवानबीच पनि कूटनीतिक सम्बन्ध छैन । औपचारिक रूपमा अमेरिकाले ‘एक चीन नीति’को पालना गर्छ तर उसले चीनले प्रान्त मान्ने ताइवानलाई हतियार बेचिरहेको छ ।

यतिबेला चिनियाँ फाइटर जेटहरू दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन् । सन् २०१९ मै चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान अलग्याउन चाहने शक्तिहरू सक्रिय भएकाले आफ्नो सेनालाई हरेक समय युद्धका लागि तयार हुन निर्देशन दिइसकेका थिए ।