अर्को महिनाबाट तापक्रम तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ, तर भारतको प्रणाली यस भीषण गर्मीको सामना गर्न तयार छैन । गर्मीको सामना गर्न थप स्रोत र राम्रो तयारी को आवश्यकता पर्दछ ।
नयाँ दिल्लीस्थित संस्था सेन्टर फर पोलिसी रिसर्चले भारतको कमजोर वर्गलाई आगामी गर्मीबाट जोगाउन पर्याप्त तयारी नभएको बताएको छ । सीपीआरमा केन्द्र र राज्य सरकारले तयार पारेका ३७ वटा योजनाको विश्लेषण गरिएको छ ।
योजनाहरूमा समयमै आवश्यक परिवर्तन हुन नसकेको र अधिकांश अवस्थामा यी योजनाहरूको लागि छुट्टै वित्तीय वा कानुनी सहायता उपलब्ध नभएको उनीहरूको निष्कर्ष छ । रिपोर्टका अनुसार, यी योजनाहरू अन्तर्गत ती वर्गहरूको पहिचान गरिएको छैन, जसलाई चर्को गर्मीबाट सबैभन्दा बढी सुरक्षाको आवश्यकता पर्नेछ ।
दर्जनौं गर्मी योजना तयार
सन् २०१० मा जब अहमदाबादको तापक्रम ४८ डिग्रीसम्म पुग्यो र गर्मीका कारण ८ सयभन्दा बढी मानिसको मृत्यु भयो, धेरै राज्यहरूले यस्तो योजना बनाउन थाले । शहरका अधिकारीहरू र अन्य संगठनहरूले तीब्र गतिमा काम गरे र एक ‘गर्मी योजना’ तयार गरे जसअन्तर्गत मानिसहरूलाई गर्मीबाट बचाउन विभिन्न उपायहरू सोचिएको थियो ।
दक्षिण एसियामा यो पहिलो प्रयास थियो, जसमा मानिसहरूलाई जागरुक बनाउनेदेखि लिएर यस्तो अवस्थाका लागि स्वास्थ्यकर्मीहरूलाई विशेष प्रशिक्षण दिनेसम्मका प्रयासहरू थिए । साथै, घरलाई चिसो राख्ने छाना बनाउन नरिवलको छाल र कागजको पल्पजस्ता चीजहरू प्रयोग गर्न आवश्यक ठानिएको थियो ।
केन्द्रीय र राज्यस्तरमा अन्य धेरै योजनाहरू पनि तयार पारिएका छन् । सीपीआरका एसोसिएट फेलो तथा यो रिपोर्ट तयार पार्ने टोलीका सदस्य आदित्य पिल्लइ भन्छन, ‘भारतले गर्मी योजना तयार गर्ने सन्दर्भमा धेरै प्रगति गरेको छ ।’ भारतले पछिल्लो एक दशकमा दर्जनौं गर्मी योजना बनाएर उल्लेखनीय प्रगति गरेको छ । तर हाम्रो आँकलन के हो भने यी योजनामा धेरै समस्या छन् जसलाई सम्बोधन गर्न आवश्यक छ ।
प्राकृतिक स्रोत रक्षा परिषद्का जलवायु तथा स्वास्थ्य योजना प्रमुख इञ्जिनियर तिवारी भन्छन्, ‘चक्रवाती आँधीजस्ता अन्य प्राकृतिक विपत्तिको अवस्थामा कसले रकम उपलब्ध गराउने र कसले योजना कार्यान्वयन गर्ने भन्ने स्पष्ट हुन्छ, तर यो अवस्थामा त्यस्तो हुँदैन ।’ गर्मी योजनाहरूको लागि वित्त एक यस्तो विषय हो जुन कसैले पनि कुरा गर्दैन । भारत सरकार भीषण गर्मीको गम्भीरताप्रति सचेत छ, तर यस प्रतिवेदनमा उठाइएका मुद्दाहरूको समाधान धेरै प्रभावकारी साबित हुनेछ ।
यो हजारौं जीवनको प्रश्न हो
पछिल्लो ३० वर्षमा भारतमा मात्रै गर्मीका कारण कम्तीमा २६ हजार मानिसको मृत्यु भएको छ । सुकुम्बासी, स्वास्थ्य समस्याबाट पीडित, वृद्धवृद्धा र गर्भवती महिला, साना वा बन्द कोठामा काम गर्ने श्रमिक, किसान र निर्माण मजदुर गर्मीको पहिलो सिकार हुने गरेका छन् । जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दै गएको छ । हरितगृह ग्याँसको बढ्दो उत्सर्जनले यसको आवृत्ति र तीव्रता बढाइरहेको वैज्ञानिकहरूको विश्वास छ ।
दक्षिण भारतमा आद्र्रता एक यस्तो समस्या हो जुन जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको छ र ती क्षेत्रहरूमा कम तापमानको बावजुद गर्मीलाई अझ खतरनाक बनाउँदछ । सन् २०२१ मा भारतमा गर्मीका कारण कामको समयमा सबैभन्दा बढी असर पर्ने एक रिपोर्टमा उल्लेख गरिएको छ, जुन वार्षिक एक सय अर्ब घण्टाभन्दा बढी हुन सक्छ । यसको आर्थिक प्रभाव निकै गम्भीर हुने अनुमान गरिएको छ ।
भारतमा ६ वर्षयताकै सबैभन्दा ठूलो विद्युत् संकट
पिल्लई भन्छन्, ‘गर्मीसँग जुध्ने तरिका परिवर्तन गर्न अति आवश्यक छ । उदाहरणका लागि, गर्मीको लहरलाई विपत्ति घोषणा गर्नुपर्छ । योजनाहरूको नियमित समीक्षा हुनुपर्दछ । यी योजनाहरूको कार्यान्वयन सुनिश्चित गर्ने कानूनहरू बनाउनुपर्छ र तिनीहरूका लागि कोषहरू । उनी भन्छन्, ‘बलियो जग बसालिएको छ, तर यी परिवर्तनहरू तुरुन्तै गर्नुपर्दछ ताकि थप जनधनको क्षति नहोस् ।
नेपाल बेखबर
भारत र नेपालका केही भूगोल समान छन् । भारतमा जत्तिकै गर्मी नेपालमा हुन्छ । तर गर्मीबाट बच्नका लागि नेपाल सरकारसँग कुनै त्यस्तो योजना छैन । विशेष गरी नेपालको तराई क्षेत्रमा भारत जत्तिकै गर्मी हुन्छ । विशेष गरी कृषि र उद्योग क्षेत्रका श्रमिक गर्मीबाट प्रभावित हुन्छन् । ती प्रभावितका लागि जनचेतना फैलाउने कार्यक्रमसमेत नेपाल सरकारसँग छैन ।


प्रतिक्रिया