सांसद श्रेष्ठले दुई करोड मागेको विषय संसदलाई जानकारी

सांसद श्रेष्ठले दुई करोड मागेको विषय संसदलाई जानकारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले डा. श्रेष्ठको टेलिफोन संवादको अडिओ सार्वजनिक भएसँगै उनमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए । 

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्र्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिए । 

डा. श्रेष्ठलाई साधारण सदस्यको हैसियतसमेत गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उनले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताए ।