मेरिल्याण्डको संसदमा दशैं विधेयक पारित

मेरिल्याण्डको संसदमा दशैं विधेयक पारित


ग्लोब नेपाल
8k
Shares

मेरिल्यान्ड । अमेरिकाको मेरिल्याण्ड राज्य संसदको दुबै सदनबाट दशैं विधेयक पारित भएको छ । नेपाली मूलका विधायक डा. ह्यारी भण्डारीले प्रस्तुत गरेको विधेयक यतिबेला प्रमाणिकरणका लागि गभर्नरको कार्यालयमा पुगेको छ ।

संसदको यो सत्रको अन्तिम दिन सोमवार साँझ विधेयक पारित भएपछि विधायक भण्डारी सामाजिक सञ्जालमा लेख्छन– ‘आज हामी सबैका लागि ठूलो विजयको दिन हो । पाँच वर्षको अथक प्रयास र सहकार्यपछि हामीले अन्ततः दशैं विधेयक पारित गरेका छौं र यो अहिले गभर्नरको डेस्कमा छ ।’

मेरिल्याण्ड राज्यको ४४६औं संसद अधिवेशनमा दशै विधेयक पारित भएको हो । यसअघि ४४५ औं संसदमा पनि विधायक डा. भण्डारीले दशैं विधेयक प्रस्तुत गरेका थिए । तल्लो सदन हाउस अफ जनरल एसेम्बेलीबाट पारित भए पनि सिनेटमा अड्किएको थियो । यसपटक भने संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि गभर्नर कार्यालयमा पुगेको हो ।

विधायक भण्डारी भन्छन्, ‘म मेरिल्याण्ड हाउस र सिनेटमा मेरा सहकर्मीहरू प्रति कृतज्ञ छु, जसले यस बिललाई वास्तविकता बनाउन मसँगै काम गर्नुभयो । उहाँहरुको समर्पण, प्रतिबद्धता र लगनशीलता बिना आज यो महत्वपूर्ण अवसर सम्भव थिएन ।’

विधेयकको प्रस्तावनामा दशैं नेपालमा उत्पति भएको हिन्दू धर्मावलम्वीहरूको सांस्कृतिक चाड भनिएको छ । विधेयक प्रमाणिकरण भएपछि यसले कानूनी मान्यता पाउँनेछ । र, आगामी वर्षदेखि अक्टोबर ५ लाई मेरिल्याण्ड राज्यमा दशैं दिवसका रूपमा मनाइनेछ ।

‘यो विधेयक पारित भएसँगै हामीले हाम्रा समुदायलाई अद्वितिय र जीवन्त बनाउने परम्परा र चलनहरूको कदर र सम्मान गरेको देखाएका छौं, विधायक भण्डारी लेख्छन्– ‘यो ऐतिहासिक पल हो, खुशी मनाउनुहोस् । र, सबैको उज्यालो भविष्य निर्माणको काम जारी राखौं ।’