काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा फर्काउन प्रयास गरे पनि डा. सीके राउत नेतृत्वको जनमत पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेर सरकारमा सहभागी भएको जनमतले मन्त्रालयमा चित्त नबुझेपछि सो पार्टीका मन्त्रीले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री दाहाल जनमतलाई सरकारमा फर्काउन प्रयासरत भए पनि कांग्रेसलाई थप मन्त्रालय दिनुपर्ने भएपछि सरकारमा आउने जनमतको सम्भावना सकिएको हो । जनमत पार्टीले छाडेको खानेपानी मन्त्रालयमा कांग्रेसले मन्त्री पठाउने छ । जनमत पार्टीले पनि विकाससँग सम्बन्धित मन्त्रालय पाए मात्र सरकारमा जाने बताउँदै आएको थियो ।
जनमतले माग गर्दै आएको उद्योग मन्त्रालयमा कांग्रेसका रमेश रिजाल मन्त्री बनेका छन् भने जनमतको अर्को रोजाईको मन्त्रालय कृषिमा एकीकृत समाजवादीका बेदुराम भुषाल मन्त्री छन् ।
हाल प्रधानमन्त्री दाहालसँग कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । तीमध्ये परराष्ट्र मन्त्रालय जनता समाजवादी पार्टीको भागमा परेको छ भने बाँकी पाँच मन्त्रालय कांग्रेसले लिने सहमति भइसकेको बताइएको छ ।


प्रतिक्रिया