रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ

रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ



काठमाडौं । रोल्पाका एक वडाध्यक्ष पेस्तोलसहित पक्राउ परेका छन् । गंगादेव गाउँपालिका-४ का वडाध्यक्ष ३३ वर्षीय कृष्ण वली अटोमेटिक पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पाका प्रमुख डिएसपी श्यामकुमार सारू मगरका अनुसार वडाध्यक्षले आफ्नो घरमा अवैध हतियार लुकाएको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गरिएको थियो । उक्त क्रममा उनको घरको माथिल्लो तलामा लुकाएर राखेको अवस्थामा स्वचालित पेस्तोल बरामद भएको हो ।

‘मेड इन इटाली’ लेखिएको नौ राउन्ड गोली लाग्ने एक थान पेस्तोल म्यागजिनसहित बरामद भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय घर्ती गाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो १ बजेतिर वडाध्यक्षको घर खानतलासी गरेको थियो ।

पक्राउ परेका वलीविरूद्ध हातहतियार तथा खरखजना मुद्दा चलाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत रोल्पाले वडाध्यक्ष वलीलाई थप १४ दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद थप गरिदिएको डिएसपी मगरले बताए ।

वडाध्यक्ष वलीविरूद्ध चैत ३० गते बेलुका ४ बजेको समयमा गंगादेव गाउँपालिकाका अध्यक्षले चढ्ने रा १ झ १९१ नम्बरको सरकारी गाडी तोडफोड गरेको अभियोग पनि छ । उक्त अभियोगमा जिल्ला प्रशासन कार्यालयले उनीविरूद्ध थप १५ दिन म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुर (अभद्र) व्यवहार सम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको डिएसपी मगरले जानकारी दिएका छन् ।