काठमाडौं । नेपाली कांग्रेसमा अवसरको भरपुर फाइदा लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पूजारी बन्न घन्टी बोकेर तनहुँ–१ बाट उपनिर्वाचन लड्न पुगेका डा. स्वर्णिम वाग्लेको महत्वकांक्षा बौद्धिक जगत्मा यतिबेला चर्चाको विषय बनेको छ । अर्कोतर्फ, सामाजिक सञ्जालको हुइयाँ हेर्ने हो भने वाग्लेलाई निर्वाचित नै गराइसक्यो । तनहुँ–१ को वास्तविकता के छ र तथ्य र तथ्यांकले के देखाउँछ भन्ने विश्लेषण यहाँ गर्ने प्रयास गरिएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ३ वटा गाउँपालिका र २ वटा नगरपालिका पर्छन् । देवघाट, बन्दीपुर र आबुखैरेनी गाउँपालिका हुन् भने भानु र व्यास नगरपालिका हुन् । यी पालिकामा ४२ वटा वडा समेटिएका छन् । भानुमा १३, व्यासको १४ मध्ये १२ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छ । देवघाटमा ५, बन्दीपुर र आबुखैरेनीमा ६–६ वटा वडा यो निर्वाचन क्षेत्रले समेटेको छ ।
गत स्थानीय निर्वाचनमा यी ५ पालिकामध्ये कांग्रेसले ३ र एमाले र माओवादीले १–१ पालिकामा जित निकालेका छन् । यी पालिकाको ४२ वडामध्ये कांग्रेस एक्लै २४ वटामा विजयी भएको छ । एमाले ११, माओवादी ५ र स्वतन्त्रले २ स्थानमा जितेको छ ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए ।
अहिले थोरै समीकरण बद्लिएको छ । तेस्रो बढी मत ल्याएका स्वतन्त्र उम्मेदवार जोशीले स्वतन्त्र पार्टीका उम्मेदवार डा. वाग्लेलाई समर्थन गरेका छन् । एमालेले उक्त निर्वाचन क्षेत्रमा प्रहरी सेवाबाट अवकास प्राप्त पूर्व आइजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
अहिले तनहुँ–१ मा उम्मेदवार धेरै भए पनि कांग्रेस, एमाले र स्वतन्त्र पार्टीको चर्चा बढी छ । कांग्रेस उम्मेदवार गोविन्द भट्टराई र स्वतन्त्र उम्मेदवार डा. वाग्लेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । अन्तिम समयमा माहोल कता उर्लिन्छ, त्यो अहिले नै विश्लेषण गर्दा हतार हुनसक्छ । तर यति चाहिँ अहिले भन्न सकिन्छ, कांग्रेसको माहोल मंसिर ४ को भन्दा बिथोलिएको छैन । कांग्रेस उम्मेदवार भट्टराई स्वभावझै शान्त र गम्भीर देखिन्छन् । स्वतन्त्र पार्टीका टुरिस्ट उम्मेदवार डा. वाग्ले भने माहोल निर्माण गर्न हतास मनस्थितिमा जनताको घरदैलो अभियानमा जुटेको देखिन्छ ।
कांग्रेस शीर्ष नेताहरुलाई सत्तोसराप गरेर कांग्रेस त्यागेका डा. वाग्लेलाई रवि लामिछानेको स्वतन्त्र पार्टीले छिमेकी जिल्लाबाट ल्याएर मयुरको प्वाख उडाएर उम्मेदवार बनाएको छ । विचार, सिद्धान्त र राजनीतिक आस्थालाई तिलान्जली दिएर पदका लागि दौडिएका डा. वाग्लेसँग कांग्रेस उम्मेदवार दाँज्दा छेउटुप्पो कतै मेल खाँदैन ।
अर्थशास्त्रको अमेरिकी डिग्री डा. वाग्लेसँग छ भने नेपाली डिग्री होल्डर हुन भट्टराई । फरक यत्ति हो, वाग्लेले बजारमुखी अर्थतन्त्रमा डिग्री लिए, भट्टराईले उत्पादनमुखी अर्थशास्त्रमा डिग्री लिएका छन् । भट्टराई सादगी नेता हुन्, उनलाई पारिवारिक र सांसारिक मोह कत्ति पनि छैन । उनले माया, मोह तनहुँका जनतामा समर्पित गरेका छन् ।
डा. वाग्लेको ससुराली खलक भियतनामी हुन् । भियतनाम सरकारले भ्रष्टाचार काण्डमा डामेका एक नेताको छोरी उनले विवाह गरेका छन् । उनको परिवार कहाँ र कुन अवस्थामा छ भन्ने कुरा नेपाली जनतालाई थाहा छैन । तनहुँका जनतालाई के थाहा छ भने, सांसद पद चाहिएर डा. वाग्ले चुनाव लड्न एकाएक तनहुँ आएका हुन् । अर्को पटक नयाँ निर्वाचन क्षेत्रमा जान्छन् भन्ने कुरा तनहुँका जनताले बुझेका छन् ।
कांग्रेस उम्मेदवार भट्टराईलाई डा. वाग्लेले कडा टक्कर दिने कुरामा दुई मत छैन । यसका तीनवटा कारण छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल औपचारिक रुपमा सक्रिय हुन मिलेन । त्यत्ति मात्र होइन, पार्टीबाट मैले प्राप्त गर्ने यत्ति हो, त्यो प्राप्त भयो, अब किन सक्रिय रहनेजस्तो व्यवहार राष्ट्रपति पौडेल र उनको परिवारले देखाएको चर्चा छ । यदि यो चर्चा उपनिर्वाचनले प्रमाणित गरिदियो भने कांग्रेसका लागि दुर्भाग्य हो, नयाँ पुस्तालाई अर्को चुनौति हो ।
दोस्रो आबुखैरेनी, देवघाट र बन्दीपुर क्षेत्रमा बसोबास गर्ने अधिकांश जनता गोरखाबाट बसाइ सरेर आएका हुन् । डा. वाग्ले भ्रष्टचार मुद्दामा राजनीति गुमाएका कांग्रेसका पुराना नेता चिरञ्जीवी वाग्लेका भतिजा हुन् । डा. वाग्लेले गोरखाको सहानुभूति नपाउलान् भन्न सकिन्न । भ्रष्टाचार काण्डमै मुछिएका कांग्रेसका अर्को नेता गोविन्दराज जोशीले डा. वाग्लेलाई समर्थन गर्ने निर्णय गरेका छन् । कांग्रेस उम्मेदवार भट्टराईलाई चुनौति दिन बल पुग्ने यो तेस्रो कारण हो ।
यद्यपी, कांग्रेस उम्मेदवार भट्टराईको सालिन व्यक्तित्वलाई माओवादी केन्द्रले साथ दिएको छ । स्थानीय निर्वाचनको परिणामले माओवादी तेस्रो शक्ति हो भन्ने सावित भइसकेको छ । गठबन्धनका साझा उम्मेदवार भट्टराई तनहुँकै माटोमा उम्रिएरका बीज हुन् भन्ने जनताको भावना भट्टराईका लागि चुनाव जित्ने महत्वपूर्ण आधार हो भन्न हिचकिचाउनु पर्ने देखिदैन ।


प्रतिक्रिया