सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रायोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सचिव बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन पत्र दर्ता गराएका हुन् ।
शर्माले यसअघि दुईपटक विश्वासको मत लिइसकेका छन् । ६ माघमा एमालेको समर्थनमा पहिलोपटक विश्वासको मत लिएका शर्माले १७ चैतमा राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रोपटक संसदसमक्ष विश्वासको मत लिएका थिए ।
मुख्यमन्त्री शर्माले दोस्रोपटक एमाले, कांग्रेस, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, २७ चैतमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
प्रतिक्रिया