सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबार राष्ट्रिय सूचना आयोगको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउन आवश्यक रहेको बताइन् ।

“सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्नुपर्छ,” उनले भनिन्, “सशक्त र सचेत जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ ।”

सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेको जोड दिँदै मन्त्री शर्माले सार्वजनिक निकायले सम्पादन गरेका कामका बारेमा प्रश्न उठाउन पाइन्छ भन्ने जानकारीसमेत धेरैमा नभएको बताइन् ।

कुन निकायबाट के सेवा सुविधा प्राप्त हुन्छन्, कसको जिम्मेवारी के हो भन्नेसमेत जनस्तरमा पर्याप्त जानकारी नहुँदा जनताले सरकारसँग धेरै आशा गर्ने, आशा पूरा नभएमा निराश हुने र सार्वजनिक रुपमा आक्रोश पोख्ने प्रवृत्ति बढ्दै गएको छ । यसलाई कम गर्न पनि सूचनाको हकको प्रयोगलाई व्यापक बनाउन आवश्यक छ, उनले भनिन् ।