रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । स्थानीय बासिन्दाले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि चैत २३ गतेदेखि कम्पनीले आईपिओ बिक्री खुला गरेको थियो । 

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आईपिओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

रावा इनर्जीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट अर्थात प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।