रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ : युक्रेनी राष्ट्रपति

रुसविरुद्ध विशेष आक्रमणअघि थप समय चाहिन्छ : युक्रेनी राष्ट्रपति



काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध विशेष आक्रमण काउन्टर अफेन्सिभ गर्न थप केही समय चाहिने बताएका छन् ।

आफ्नो सेना पश्चिमी मुलुकहरूबाट प्रतिज्ञा गरिएको हतियार अझै नआइसकेका कारण काउन्टर अफेन्सिभ थाल्न समय चाहिने उनको भनाइ छ ।

यो आक्रमणले महिनौदेखि यथास्थितिमा रहेको युद्धको अग्रमोर्चा (फ्रन्टलाइन) लाई नयाँ रुप दिने ठानिएको छ । यसका साथै पश्चिमा हतियारको सहयोगले युद्धक्षेत्रमा कति सफलता हात पार्न सक्छ भनेर युक्रेनका लागि यो परीक्षणको अवधि समेत हुनेछ ।

कीभमा आफ्नो मुख्यालयबाट बोल्दै राष्ट्रपति जेलेन्स्कीले नेटोले समेत तालिम प्रदान गरेको लडाकु युनिट लडाइँको लागि तयार भए पनि अझै केही हतियार चाहिएको बताएका हुन् ।

“हामीसँग अहिले जे छ त्यसैले अघि बढ्न सक्छौँ र मलाई लाग्छ हामी सफल हुनेछौँ,” उनले युरोपको सार्वजनिक सेवा प्रसारकसँगको अन्र्तवार्तामा भनेका छन्, “तर हामीले धेरै मानिसहरू गुमाउनेछौँ । मलाई लाग्छ कि यो अस्वीकार्य छ । त्यसैले हामीले पर्खनुपर्छ । हामीलाई अझै अलि बढी समय चाहिन्छ ।”

युक्रेनले कहिले र कहाँबाट काउन्टर अफेन्सिभ सुरु गर्नेछ भन्ने कुरा गोप्य छ ।

रुसी सेनाले लुहान्स्क र डोनेट्स्कको पूर्वी क्षेत्रहरूबाट दक्षिणमा जापोरिज्जिया र खेर्सनसम्म एक हजार ४५० किलोमिटर सम्मको फ्रन्टलाइनमा आफ्नो सुरक्षा बलियो बनाएको छ ।

युक्रेनी अधिकारीहरूले सार्वजनिक र निजी रूपमा काउन्टर अफेन्सिभको सफलताको अपेक्षा कम गर्ने प्रयास गरेका छन् ।

यस महिनाको सुरुमा एक युक्रेनी वरिष्ठ सरकारी अधिकारीले उनीहरू सफल हुन आवश्यक भए पनि आक्रमणलाई सजिलो तरिकाले हेर्न नसकिने बताएका छन् ।

तर, रुसी राष्ट्रपतिले युक्रेनी सेना अगाडि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् । पश्चिमाले निराशाजनक देखे कुनै पनि नतिजाले सैन्य सहयोग घट्ने र रुससँग वार्ता गर्न दबाब पार्ने कीभको बुझाइ छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कुनै पनि देशले पुटिनलाई आफ्नो क्षेत्र दिएर आत्मसमर्पण गर्न नसक्ने बताएका छन् । युक्रेनलाई भुमी गुमाएकै अवस्थामा कसैले पनि आत्मसमर्पण गर्न दबाब दिन नहुने उनको भनाइ छ । बीबीसी