पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्रीनिकट स्रोतले दिउँसो दुई बजेपछि मन्त्री नियुक्ति गर्ने तयारी भइरहेको जानकारी दिएकाे छ ।
मन्त्री को-को बन्ने छन् भन्ने गोप्य राखिएको छ । गण्डकीमा सात मन्त्रालय छन् । तीमध्ये चारवटा कांग्रेस, दुईवटा माओवादी र एउटा एकीकृत समाजवादीले पाउने पक्कापक्की छ । यसअघि कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा बिनाविभागीय मन्त्री बनिसकेका छन् । अब कांग्रेसबाट दुई, माओवादीबाट एक र एकीकृत समाजवादीका एक जना सरकारमा जाने छन् ।
कांग्रेसभित्र आकांक्षी धेरै देखिएका छन् । महेन्द्रध्वज जिसी, टकराज गुरुङ, दीपेन्द्रबहादुर थापामध्ये दुई जना मन्त्रिमण्डलमा जाने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । रेशमबहादुर जुग्जालीलाई फेरि मन्त्री बनाउने माओवादीले निर्णय गरिसकेको छ । उनी यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए । एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने छन् ।
आज चार बजे प्रदेश प्रमुखको निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । गत वैशाख १४ गते मुख्यमन्त्री बनेका कांग्रेस दल नेता पाण्डेले दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।
प्रतिक्रिया