चौथोपटक मन्त्री बन्दै दीपक मनाङे

चौथोपटक मन्त्री बन्दै दीपक मनाङे


ग्लोब नेपाल
810
Shares

पाेखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिमण्डल विस्तार गर्दै छन् । गठबन्धनको दल एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाउने भएका छन् ।

मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका मनाङे पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । मनाङे चौथोपटक मन्त्री बन्ने भएका हुन् ।

मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीनपटक युवा तथा खेलकुदमन्त्री बनिसकेका छन् । २०७८ साल वैशाख १६ मा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी पहिलोपटक मन्त्री बनेका थिए ।

मुख्यमन्त्री गुरूङले वैशाख २६ मा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । वैशाख २९ मा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए ।

जेठ ९ मा मनाङे फेरि सोही मन्त्रालयमा दोहोरिए । कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ साल असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

गण्डकी प्रदेशमा आज उनीसहित गण्डकीमा आज चार जना नयाँ मन्त्रीको शपथ हुँदैछ । कांग्रेसबाट दुई, माओवादीबाट एक जना सरकारमा जाने छन् ।