संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा स्वीकृत

संसद्को संयुक्त बैठक : कार्यसञ्चालन नियमावली मस्यौदा स्वीकृत



काठमाडौं । सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

त्यसअघि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए । सांसदहरूको जिज्ञासामाथि मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले जवाफ दिएका थिए । सो नियमावली यही जेठ १४ गते पारित गर्ने तयारी गरिएको छ ।

सोही प्रयोजनका लागि जेठ १४ गते बिहान ११ बजेका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । प्रतिनिधिसभाले यही जेठ १ गते प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल प्रस्तावक तथा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराई समर्थक रहेको समिति गठनका लागि प्रस्ताव पारित गरेको थियो ।

नियमावली मस्यौदा तयार पार्ने प्रयोजनका लागि प्रतिनिधिसभाबाट १६ सदस्य रहेका थिए भने यही जेठ ५ गतेको राष्ट्रियसभाले तीन सदस्य थपेर समितिलाई पूर्णता दिइएको थियो ।

सङ्घीय संसद्को संयुक्त समिति ( कार्यसञ्चालन नियमावली, २०७५) लाई समयानुकूल परिमार्जन गरी मस्यौदा तयार पार्न मस्यौदा समितिलाई काम सुरु गरेको मितिले सात दिनको समय तोकिएको थियो ।