काठमाडौं । व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले गत असोज ८ गते तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायतका नाममा आदेश जारी गरेको थियो ।
त्यसैगरी, विपक्षीहरूको नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघे पनि नियमानुसार पेस गर्न आदेश दिइएको थियो । सर्वोच्च अदालतमा विचाराधीन रहेका ‘दीपक भट्ट विरुद्ध नेपाल सरकार’ भएका मुद्दाहरू अवलोकनार्थ साथै राखी पेस गर्नसमेत आदेश भएको थियो ।


प्रतिक्रिया