लागुऔषधसहित आठजना पक्राउ

लागुऔषधसहित आठजना पक्राउ



काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६२० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकाे टीकापुर नगरपालिका-९ खर्गौलाबाट अवैध लागूऔषध  खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्रामसहित  जानकी गाउँपालिका-४ जानकी नगर बस्ने २१ वर्षीय दिपेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीकाे धरान उपमहानगरपालिका-८ गौरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम, नियन्त्रित लागुऔषध ट्रामाडोल १२० क्याप्सुल, स्पासपेन १ सय ३० क्याप्सुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय काजी कुमार राई र उनकै श्रीमती ३५ वर्षीया रमा राई रहेका छन् । ईलाका प्रहरी कार्यालय  धरान  र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोईन्टबाट ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५ सय  मिलिग्राम, नाइट्राभेट ८ ट्याब्लेट र कोरेक्स ५० एमएलसहित कोहलपुर नगरपालिका-१२ बस्ने २४ वर्षीय सुवास पुनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय  जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  

सिरहा, भगवानपुर गाउँपालिका-२ गम्हरियाबाट नियन्त्रित लागूऔषध डाईजोपाम, फेनारगन, ब्युफ्रेनोरफिन गरी जम्मा ८४ एम्पुलसहित सोही ठाउँ बस्ने २० वर्षीय मोहम्द सागिर सेखलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-४  बस्ने २९ वर्षीय लोकेन्द्र राना मगर र २० वर्षीय पारस बासीलाई रेक्सोजेसिक १ सय ५८ एम्पुल, डाइजेपाम ८ एम्पुल र फेनारगन १ सय ५८ एम्पुलसहित प्रहरीले पक्राउ गरेको छ ।  सोही ठाउँस्थित पसलभित्र रहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।