को बन्दैछ कोशी प्रदेशको मुख्यमन्त्री ?

को बन्दैछ कोशी प्रदेशको मुख्यमन्त्री ?



विराटनगर । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मत कार्कीको पद धरापमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) की सांसद लिम्बूले समर्थन फिर्ता लिएँगै प्रदेशसभामा मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् ।

९३ सिटको कोशी प्रदेशसभामा नेकपा एमाले एक्लैले ४० सिट जितेको छ । उसको सत्ता सहयात्री राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ सिट छ । एमाले र राप्रपाको जोड्दा ४६ सिट मात्र हुन्छ । प्रदेशसभामा १ सिट मात्र जितेको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका हुन् । प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।

प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत लिन्छन् वा अगाडि नै राजीनामा दिन्छन् त्यो अहिले नै खुलेको छैन । यद्यपि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बहुमत सिद्ध गर्ने संकेत गरेनन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्केपछि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिने बुझिएको छ ।

सभामुख निर्णायक बन्ने
कोशी प्रदेशसभामा ६ वटा दलले प्रतिनिधित्व गर्छ । एमाले सरकार ढलेपछि गठबन्धन सरकार बन्ने लगभग निश्चितजस्तै छ । गठबन्धनमा नेपाली कांग्रेस (२९), नेकपा माओवादी केन्द्र (१३), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) को गठबन्धन सरकार बन्ने देखिन्छ । सभामुखबाहेक यो संख्या जोड्दा ४६ मात्र पुग्छ । यो परिवेशमा सभामुख निर्णायक बन्ने छन् । सभामुख बाबुराम गौतम माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनले गठबन्धनको पक्षमा मत जाहेर गर्ने कुरामा सन्देह रहँदैन ।

को बन्छ मुख्यमन्त्री ?
प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको असन्तुष्टि अन्त्य गर्ने हतियारको रुपमा उपयोग गर्ने बताइन्छ । यो विषयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भित्रिरुपमा सहमति भइसकेको बुझिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा कांग्रेसको मुख्यमन्त्री, बागमति र कर्णालीमा माओवादी, मधेशमा जसपाको मुख्यमन्त्री छन् ।

कोशी प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिँदा अन्याय नहुने सत्ता गठबन्धनले निष्कर्ष निकालेको छ । तर, २९ सिट भएको कांग्रेसलाई मनाउन त्यत्ति सजिलो नहुने एकथरिको भनाइ छ । यता, माओवादी संसदीय दलका नेता इन्द्र आङ्वो पनि मुख्यमन्त्री बन्ने दौडधुपमा छन् । कोशी प्रदेशको राजनीतिमा चतुर मानिएका आङवोको सत्ता समीकरणमा महत्वपूर्ण भूमिका रहने सक्ने बुझिन्छ । यद्यपी, सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सम्भावना बलियो रहेकाले संसदीय दलका नेता राजेन्द्रकुमार राई पुनः मुख्यमन्त्री बन्ने लगभग निश्चितजस्तै छ ।