गाउँले जीवन

गाउँले जीवन



मान्द्रोमा बिस्कुन सुक्दै गर्छ
हिँड, हामी घाँस काट्न जाउँ
गाई बाख्रालाई घाँस लगाएर
हामी नी गुन्द्रुक ढिडो पकाईखाउँ ।

ठेकी मदानी हो मई पार्नलाई
कराईं नी छँदैछ घ्यु खार्नलाई
भिजेको दाउरा बल्छ कि बल्दैन
आज यो चुल्हो चल्छ कि चल्दैन ।

लिप है ढिकी धान कुट्नुपर्छ
दुई पाथी कुटे दुई छाक नै टर्छ
हजुरबाको लागि थोरै जाउलो
अलिक नरम गरेर पकाउनुपर्छ ।

बाख्राको टाट्ने भत्किसकेछ
गाईगोठमा गोबर थुप्रिसकेछ
लथालिङ्ग काम छ कता के गर्नु
लागेँ है म चैँ गाईको थला सोर्नु !
घाम पनि बेस्सरी चर्कियो आज
के बनाउने हो दिउँसोको खाजा
सिमलतरुल खनेर उसिने हुन्छ
नत्र त त्यो पनि त्यतिकै कुहिन्छ ।

घाम डुबिसक्यो नगर भाइ अबेर
डोको बुन्नलाई चोयाले पुग्छ कि हेर
दाम्लो बाट्नलाई डोरी छ कि छैन ?
परेवाको चारोमा तोरी छ कि छैन ।

हल्लुँड जुटायो उता जोतारो छैन
गोठको बाछोलाई तगारो धरी छैन
काम अल्झाउनलाई दशवटा निहुँ
फाली न अनौ कसरी लाउने कुन्यौँ ?

  • सिक्किम