५३ अंकले बढेर बन्द भयो नेप्से

५३ अंकले बढेर बन्द भयो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंक बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेर १९१९ अंकमा पुगेर रोकिएको हो ।

आज बिहान अर्थ मन्त्रालयमा लगानीकर्तासँग पुँजीगत लाभकरका विषयमा सहमति भएपछि नेप्सेमा उत्साहजनक वृद्धि भएको छ । यसअघि अर्थ मन्त्रालयले बजेटमार्फत घरजग्गा र सेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको थियो । तर, घरजग्गा लगायतलाई अग्रिम करको दायरामा ल्याए पनि पुँजीगतलाई भने सुरुको करकोरुपमा राख्न नहुने लगानीकर्ताको माग थियो ।

यही विषयमा आज बिहान अर्थ मन्त्रालयमा सहमति भएसँगै नेप्सेले लय समातेको हो । यससँगै, हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । यो सहमतिपछि नेप्से २.८४ प्रतिशतले बढेको हो ।

यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मात्रै घटेको छ । यस्तै, आज १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको कारोबार भएर ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ६ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।