बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना



ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बङ्गलादेशी नागरिकमाथि लगाइएको भर्खरैकाे अमेरिकी भिसा प्रतिबन्धको आलोचना गरेकी छन् ।

‘हामी अरूमा निर्भर हुने छैनौँ । कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन’, हसिनाको यो टिप्पणी शनिवार युनाइटेड न्युज अफ बङ्गलादेशले उद्धृत गरेको छ ।

नयाँ नीतिअन्तर्गत बङ्गलादेशका वर्तमान र पूर्वअधिकारी, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्य र कानुन प्रवर्तन निकायका सदस्य, न्यायपालिका र सुरक्षा सेवाका सदस्यमाथि प्रतिबन्ध लगाइएको छ ।

यो नीति बङ्गलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री हसिनाले बङ्गलादेशमा अर्को आम चुनाव अवामी लिग सरकार अन्तर्गत हुने कुरा स्पष्ट गरिसकेकी छन् । अब चुनाव सन् २०२४ को सुरुमा हुनेछ ।

अहिलेकाे सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आँकलन हुँदैछ ।