हीराको हरि

हीराको हरि



बिश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने बिश्वको अग्लो सगरमाथाको चुचुरो चुम्ने हरि बुढामगरको सपना, बिपना, अदम्य साहस र दृढ संकल्पको स्मरण र सम्मान गर्न यो आलेख तयार पारेको छु । आलेखको अर्को अभिप्राय बिश्व वातावरण दिवसलाई अर्थपूर्ण बनाउन अपिल गर्नु पनि हो ।

हरिकाे उद्देश्य
“उद्देश्य के लिनु सगरमाथा चुमिरहनु” हरिले देखेको सपना हुनुपर्दछ । सपनालाई बिपनामा उतारि छाड्ने हरिको उद्देश्य चन्द्रमा छुने भन्दा कठिन र पर्लयकारी थियो । उहाँको शारीरिक अवस्थालाई हेर्दा अकल्पनीय र असम्भव जस्तो, तर हरिले त्यही असंभव उद्देश्य लिनुभयो । कृतिम दुई खुट्टाको भरमा उहाँ लामो पदयात्रा गरेर एभरेष्ट बेसक्याम्प पुग्नुभयो । म जस्ता धेरैलाई उहाँको त्यही कर्म असम्भव लाग्यो ? त्यसपछि सगरमाथामाथि स्काईडाईभ् गरेर चुचुरोलाई बर्ड आई भिउबाट घुमिघुमि हेर्नुभयो । हामी धेरैलाई उहाँको त्यही साहसले आश्चर्यचकित तुल्यायो । यो बर्ष उहाँले सगरमाथाको चुचुरोमा पाईला टेकेर देखाईदिनुभयो । घाम जुन मुनि असम्भव केही छैन भनेर पृथक क्षमताका तमाम् जनसंख्यालाई उर्जा र हौसला भरिदिनुभयो । भब्य सपना देख्न, अकल्पनीय उद्देश्य चयन गर्न र त्यसलाई बिपनामा उतार्न उहाँले बिश्वलाई बाटो देखाई दिनुभयो । “गर्छु गर्छु – सक्छु सक्छु” उहाँको आदर्श र बिश्वासको जति तारिफ गरेपनि कमै हुन्छ ।

ईमान
बिद्युतीय धराममा परेर २ खुट्टा जाँदा उहाँले उच्चारण गरेको पहिलो शब्द थियो – सरी । आफ्नो सेवा, संस्था र धर्तीमातालाई उहाँले “सरी” पुकार्नु भयो । पसिना वगाउन, सेवा गर्न र दिन धेरै बाँकी थियो, बर्बाद भयो, माफ पाउँ, भन्ने आसयको सरी शब्द थियो त्यो ।

अकल्पनीय घटना र असह्य पीडामा उहाँले पहिले आफ्नो जिम्मेवारीबोध गर्नुभयो । धेरै पछि मात्र सम्झना आएको थियो घर परिवारको । उहाँको ईमान जाँच्न बुझ्न सायद त्यही पहिलो शब्द “सरी” काफी छ । आज पनि उहाँले समाज, देश, भावी पिंढीलाई दिने एक शब्द सन्देश त्यही हो – ईमान । ईमानलाई नैतिकताको कसीमा राखेर हेर्न हरिको जोडदार माग छ । ईमानको खानी थियो पुरानो नेपाल । बर्तमान नेपालले ईमान–जमान गुमाएको छ । ईमानको खडेरी छ । ईमान फर्किनासाथ नेपाल स्वर्ग हुनेछ । हरिको यो आदर्श र सन्देशसँग म पूर्ण सहमत छु ।

अदम्य साहस
अदम्य साहसका पर्यायबाची हुन् हरि । हरिले जीबनकालमा प्रदर्शन गरेका साहस उल्लेखनीय छन् । कदरयोग्य छन् । साहसको सीमा हुँदैन भन्ने सत्य र तथ्यलाई प्रमाणित गरिदिएको छ हरिको अदम्य साहसले ।

हरिको अदम्य साहसको ढोका दुई खुट्टा गुमाएपछि खुलेको जस्तो लाग्दछ । उहाँसँग पटक पटक साक्षात्कार हुन पाउदा र अन्तरक्रिया गर्दा उहाँको ज्ञानको तेश्रो आँखापनि खुलेको देखिन्छ । साहसको साँध सीमाना र बन्धन नभएपछि हरिको एड्भेञ्चर बिश्वभरि भयो । हरेक जोखिम, चुनौती, बाधा र जीवनमरणको पल पल क्षण क्षणमा हरिको तेश्रो आँखा खुलिरह्यो । नयाँ नयाँ ध्यान र ज्ञान प्राप्त भईरह्यो । त्यसभित्र समाधान र सफलताका बिकल्पहरु थिए । हरिको अदम्य साहस नै अध्ययन, ध्यान, ज्ञान, सफलताको सूत्र बन्यो । र, २ हात मात्रले त्यही साहसको भ¥याङ्ग जोडसँग खिच्दै हरि सफलताको चुचुरोमा पुगिरहनुभयो । अदम्य साहसका दुर्लभ सफल प्रयोगकर्ता हरिलाई जति सम्मान गरेपनि कमै हुन्छ ।

सकरात्मक सोच
कर्ण सकरात्मक सोचका गुड्विल एम्बेसडर हरिको सकरात्मक उर्जाले हाम्रो अभियान झन् सकरात्मकमय भएको छ । यही अभियानले हाम्रो भेटघाट गरायो । सुमधुर सम्बन्ध गाढा हुँदै गयो । अहिले यो अभियानका सबैको हरिसँग गहिरो मायाप्रिति बसेको छ । त्यसैले कोषका संरक्षक कर्ण शाक्यले आफ्नो क्षत्राधीस कुर्सीमा आसनग्रहण गराएर मंगलधुन बजाई शाक्य परम्परा र रितिअनुसार हरिलाई भब्य सम्मान गर्नु भयो ।

साहस र सकरात्मक सोच, खोज, मोज, उर्जा सरुवा शक्ति हो । कर्ण शाक्यले हरिलाई सकरात्मक उर्जा भरिदिनुभएको थियो । अहिले हरि आफै सैद्धान्तिक होईन, ब्यबहारिक सकरात्मक सोचका गुरु हुनुभयो । हरिको उर्जा कर्ण शाक्यमा सरेर हुनुपर्दछ, उहाँलाई मैले १० बर्ष उमेर कमको सुन्दर, स्वस्थ, शक्तिसाली, ह्याण्ड्सम हिरो देखें । ८० बर्ष नाघेको पूर्ब क्यान्सर पीडित प्रचण्ड गर्मीमा खाल्डो धुलो हजारौ कि.मि. सडकयात्रा गरेर सकरात्मक सोचको ज्योती दिदैं हिंडने कर्ण दाजुको सकरात्मक उर्जा उस्तै सम्मानयोग्य, गर्वयोग्य र कदरयोग्य छ । आफ्नै चेलो हरि कर्ण गुरुलाई सकरात्मक उर्जा भरिदिने सफलताको चुचुरोमा पुगेको देख्दा समारोहमा सबैभन्दा धेरै हर्ष बिभोर र गौरवान्वित कर्ण दाजु हुनुभएको नजर आयो ।
दुबै हस्तीहरु प्रति म नतमस्तक भएँ ।

पुस्तक उपहार

पृथ्वी मानवलाई बस्नयोग्य हुनुपर्दछ । प्रकृति दोहन बिनास होईन भावी पिंढीलाई संचिति हुनुपर्दछ । सफा सुन्दर स्वस्थ र सुखी पृथ्वीको लागि बाँकी जीबन समर्पण गर्ने हरिको उच्च र पबित्र भिजन मिसनलाई मैले आफ्ना दुई प्रकृति संरक्षण पुस्तकले सम्मान गरें । स्वर्गको सेवा पुस्तकमा लेखेको कबिता वाचन गरेर सुनाएँ –

हरिको जोस
हरिको होस
म भएं बेहोस
उद्देश्य के लिनु
सगरमाथा चुम्नु
पाउ नभए के भो
दुई हातको पौरख हो
पृथक क्षमता भए के भो
ठूलो ईच्छाशक्ति हो
असंभव के छ र?
संभव के छैन र ?
सलाम छ
जिउदो हरिलाई
सलाम छ
सगरमाथा भन्दा अग्लो हरिलाई

दोश्रो पुस्तक जर्नेल देखि रेञ्जरसम्ममा पनि छोटो कविता लेखेको थिएँ –
पृथ्वीनारायण शाहले
त्यसै रोजेका होईनन्
नेपालको निर्माण र रक्षा
त्यसै भएको होईन
मुटु बिनाको बहादुर हरि
अदम्य साहसको अर्को नाम हरि
सलाम छ,
काललाई जितेको हरिलाई
सलाम छ,
बिश्व जितेको हरिलाई

शुभकामना
हरिले बेलायती राजाको राज्यभिषेक बर्ष पारेर हिमाल चढ्नुभयो । सगरमाथा दिवस महिना मे मा सगरमाथाको चुचुरोमा नेपालको झण्डा फहराउनु भयो । जलवायु परिवर्तनको प्रभाव रोक्न बिलम्ब भईसक्दा चुचुरोबाट पृथ्वी जोगाउ भनेर बिगुल फुक्नुभयो । निःसन्देह मित्रराष्ट्र बेलायतले उहाँलाई उच्च सम्मान गर्ने छ । बिश्वले कदर गर्ने निश्चित छ । कतै आफ्नै देशले रोल्पाको दूरदराजमा जन्मेर बिश्व जगाउने हल्लाउने तताउने उफार्ने अदम्य साहसी धर्तीपुत्रलाई कदर, सम्मान, बिभुषित गर्न कञ्जुस्याँई नगरोस् ।

बिश्वको अग्लो शिखरमा नेपाली झण्डा फहराईसकेपछि अब हिमाल आरोहण बन्द गर्न मैले उहालाई जोडदार सिफरिस गरें । बिश्वको पुंजि र सपना, बिपना, साहस, संकल्प, सकरात्मक सोचका उत्प्रेरक र मर्द प्रशिक्षक भएर बिश्व चम्काउने टल्काउने त्याग उपयोगि र शक्तिशाली हुने सुझाएँ ।

हरिका अनुभव र दिब्य उपदेशको फेहरिस्त यो सानो रचनामा बर्णन गर्न संभव छैन । तर भावी सन्ततीलाई उहाँले दिनुभएको अर्ती उपदेशको मर्म र भावना आत्मसात् गरेर जीवनमा उतार्न सके नेपाल छिटै स्वर्ग हुनेछ । हाम्रो कक्षालाई हरिले दिनुभएको उत्प्रेरणा बुँदागतरुपमा राख्दा –

“नेपाल अदम्य साहसको खानी हो, कारखाना हो र साहस सफलताको कडि हो ।

सेवा आफ्नै देशको गर्नु । राष्ट्रभक्ति, रगत पसिना, योगदान र त्याग मातृभूमिका खातिर गर्नु ।

शिक्षा नै सभ्यता र समृद्धिको जग हो । शिक्षा ज्ञान ध्यानको ज्योती हो । शिक्षा सबैको लागि अनिवार्य छ । सकरात्मक सोच र गर्छु सक्छु भन्ने ईच्छाशक्तिले मानिसलाई समाधान र सफलता दुबै दिन्छ दिन्छ ।

ईमान नछाड्नु । हाम्रा पुर्खाको देन ईमान खुईलिन हराउन दिनुहुँदैन र नेपाललाई ईमानीहरुको सुन्दर शान्त बिशाल देश भनेर चिनाउनुपर्दछ । हिमालहरुको हिंउ पग्लिनु दुखद् हो । नेपालको शिर हिमालहरु सफा राख्नुपर्दछ । हिमाल सफाईको राष्ट्रिय कार्यक्रम प्रशंसायोग्य छ । नेपाली सेनाको सफाई योगदान सलामयोग्य छ । तर यो पहल र प्रयासलाई अझ धेरै गुना बढाउनुपर्दछ ।”

हरिलाई सम्मान गर्न ईच्छुक धेरै संघ संस्था थिए । तर हरिको समयको पाबन्दीले सबै सम्मान कार्यक्रमहरु संभव भएन ।

नागरिकलाई अनागरिक बनाएर बेच्ने राष्ट्रिय प्रकरणका कारण अन्तर्राष्ट्रिय अपमान र बदनामको कालो कलंकले मातृभूमि घायल कायल भैरहंदा घायल हरिले दुई हातका भरमा सगमाथा चुमेर नेपाल आमाको नाम मान शान चम्काई दिनुभयो । बिश्व सम्पदामा सूचिकृत सगरमाथामा अरु धेरैले गर्विलो रेकर्ड राखेर बदनाम समाचारलाई बिषयान्तर गरिदिए । नेपाल आमाको कलंक र आशु पुछिदिए । सलाम र शुभकामना छ हरि जस्तै ती धर्तीपुत्रहरुलाई पनि ।

अन्त्यमा अदम्य साहसका धनी ईमानी हरि यो धर्तीमा हीरा जस्तै चम्किरहुन् । टल्किरहुन् । र, यो बर्षको नेपालको बिश्व वातावरण दिवसले विश्वलाई सफासुग्घर हीरा जस्तो देश नेपाल अर्पण गर्ने संकल्प गरोस् र भिजिट बर्ष होईन, सफाई अभियान बर्ष संचालन गरोस ।