कांग्रेस पार्टी कार्यालय सचिव रिजाल सधैंका लागि हिडे अमेरिका

कांग्रेस पार्टी कार्यालय सचिव रिजाल सधैंका लागि हिडे अमेरिका



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पार्टी सचिव केशव रिजाल संधैंका लागि अमेरिकातिर लागेका छन् । उनले गत बैशाख १५ मा महामन्त्री गगन थापालाई राजीनामा बुझाएका हुन् । सात वर्षअघि रिजालकी श्रीमतिको नाममा डिभी चिठ्ठा परेको थियो । त्यतिबेला देखि रिजालकी श्रीमति अमेरिका बस्दै आएकी छिन् । केशवबाहेक रिजाल परिवार नै अमेरिकामै बसोबास गरिरहेको छ ।

कांग्रेस पार्टी कार्यालयले कर्मचारी विनियमावली पारित नगरुन्जेलसम्म रिजालले जागीर खाए । पार्टीले विनियमावली पारित गरेपछि आफूले पाउनुपर्ने सुविधा दाबी गरिराखेर महामन्त्री थापालाई राजीनामा बुझाएका हुन् । नियमतः उनले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई राजीनामा बुझाउनुपर्ने थियो, तर मुख्यसचिव पौडेलसँग सम्बन्ध राम्रो नभएकै कारण उनले राजीनामा महामन्त्री थापाको हातमा थमाइदिएको बुझिएको छ ।

मुख्यसचिव पौडेलसँग सम्बन्ध राम्रो नभएकै कारण रिजालले राजीनामा पछि आफ्नो जिम्मेवारी बुझबुजारथ गरेका छैनन् । उनको जिम्मामा पार्टीको विधान, नियमावली र निर्वाचनसम्बन्धी सामग्री छपाइ रहेको थियो । पार्टीका लागि यो महत्वपूर्ण जिम्मेवारी अलपत्र पारेर रिजाल अमेरिका लागेका छन् । रिजालले २०५९ असार १५ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यालयमा जागीर सुरु गरेका थिए । उनलाई कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले पार्टी कार्यालयमा जागिर लगाइदिएका हुन् ।