ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा अमेरिकी नागरिक !

ओखलढुंगा खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा अमेरिकी नागरिक !


ग्लोब नेपाल
39.7k
Shares

ओखलढुंगा । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा अमेरिकन नागरिक भएको आरोप लगाउँदै भूपेन्द्रबहादुर बस्नेतले उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा हिजो मंगलबार रिट दर्ता गराएका छन् । रिट दर्ता गर्ने बस्नेत तिनै व्यक्ति हुन् जो हालै सम्पन्न स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा शेर्पासँग १ सय ३० मतले पराजित भएका थिए ।

बस्नेतले रिटमार्फत् शेर्पा नेपाली नागरिक नभई अमेरिकी नागरिक रहेको र निजले झुटा विवरण पेश गरेकोले निजको निर्वाचित पद बदर गरी आफूले दोस्रो मत प्राप्त गरेकाले निर्वाचित घोषणा गरी पदस्थापना गरिपाउँ भनी रिटमा माग गरेका छन् ।

शेर्पाले (सन् २०१४ जुन १६) अर्थात २०७२ साल असार २ गते ५१८१४४६६० नम्बरको अमेरिकी पासपोर्ट लिएको र अमेरिकी नागरिक भएर बसोबास गरेको दाबी रिट निवेदनमा गरिएको छ । सोही पासपोर्टमा नेपाल आएर २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएको बस्नेतले रिटमा उल्लेख गरेका छन् ।

शेर्पाले आफूले त्यागेको नेपाली नागरिकताको प्रतिलिपी २०७९ साल बैशाख ५ गते निकाली निर्वाचनमा भाग लिएको उल्लेख छ । अमेरिकाको नागरिकता त्याग निस्सा जिल्ला प्रशासन कार्यालयमा पेश नगरी नेपाली नागरिकता प्राप्त गर्न नसकिने व्यहोरा समेत रिटमा उल्लेख छ ।

नेपालको संविधानको धारा २१५ (५) को (क) र २२२ (६) को (क) एवं स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ र १३ समेतका आधारमा नेपाली नागरिक नभई कुनै पनि व्यक्ति स्थानीय तहको अध्यक्ष उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य पदमा निर्वाचित हुन योग्य हुँदैनन् भनी रिट निवेदनमा लेखिएको छ ।

रिटमा खिजीदेम्बा गाँउपालिकाका अध्यक्ष गम्बु शेर्पा, निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकृत ओखलढुंगा, जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, इलाका प्रशासन कार्यालय खिजीफलाटे र अध्यागमन विभागलाई विपक्षी बनाइएको छ ।