मलाई मुद्दा हाल्नेहरु रुन्चे हुन् : गम्बु शेर्पा, अध्यक्ष खिजिदेम्बा गाउँपालिका

मलाई मुद्दा हाल्नेहरु रुन्चे हुन् : गम्बु शेर्पा, अध्यक्ष खिजिदेम्बा गाउँपालिका



ओखलढुंगा खिजिदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पासँग अमेरिकी पासपोर्ट र नागरिकता नत्यागी गाउँपालिका अध्यक्ष निर्वाचित भएको आरोप लगाउँदै उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा मुद्दा परेको छ । अदालतले १५ दिनभित्र अमेरिकी नागरिकता परित्याग गरेको निस्सा पेस गर्न आदेश दिइसकेको छ । यो परिवेशमा वास्तविकता के हो भनेर ग्लोब नेपालले अध्यक्ष गम्बु शेर्पासँग कुरा गरेको छ । कुराकानीको क्रममा आफू १८ वर्ष अमेरिका बसेको, गाउँको सेवा गर्न नेपाल फर्किएको र प्रकृयागतमा आफूले कुनै त्रुटी नगरेको बताएका छन् । कुराकानीको सम्पादित अंश यस्तो छ–
० रवि लामिछानेजस्तै तपाईंको नागरिकता र पासपोर्ट विवादमा परेछ नि ?
– हो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जस्तै साथीहरुले मेरो पनि नागरिकता र पासपोर्ट विवादमा पारेका छन् । यो पुष्टि हुन बाँकी छ ।

० वास्तविकता के हो ?
– संविधान र ऐनको धारामा टेकेर आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ भन्ने कुरामा म राम्रोसँग जानकार छु । सबै कुरा प्रकृयागत भएका छन् । प्रकृयागत भएको कुरालाई विवादमा तान्ने काम भएको छ ।

० विवाद अदालत पुगेको छ हैन ?
– हो, अब विवाद अदालतमा पुगेको छ । वास्तविकता आउन अदालतको निर्णयलाई पर्खिनु प¥यो । मलाई १५ दिनभित्र कागजपत्र उपलब्ध गराउनु भनेको छ । त्यही अनुसार म अदालतमा आवश्यक कागजपत्र उपलब्ध गराउँदैछु ।

० तपाईंसँग अमेरिकन पासपोर्ट छ अरे ?
– म १८ वर्ष अमेरिका बसेको मान्छे, अमेरिकन पासपोर्ट नहुने कुरै भएन ।

० अमेरिकन पासपोर्ट नत्यागी उम्मेदवार बन्न पाइछ ?
– विदेशी नागरिकता त्यागेको व्यक्तिले नेपालको राजनीतिमा सहभागी बन्न प्रकृया पूरा गर्नुपर्छ । अमेरिकन पासपोर्ट त्यागेर नेपाली नागरिकता लिएको कागजात निर्वाचन आयोगले प्रमाणित गरेको छ । यी सबै प्रकृया पूरा गरेर म गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको हुँ ।

० तपाईंले अमेरिकी नागरिकता त्याग्नु भएको हो नि ?
– नत्यागी उम्मेदवार बन्न पाइँदैन । मेरो उम्मेदवारी विधिविधानसम्मत छ । यी सबै कुराको फैसला अदालतले गर्नेछ ।

० त्यसो भए मुद्दा जित्नुहुन्छ ?
– मुद्दा पनि जित्छु, चुनाव जितेर काम पनि गरिरहेको छु । मुद्दा हाल्ने रुन्चे मान्छेको काम हो । जनताको मन जित्न नसक्नेहरुले अदालतमा न्याय माग्ने कुरा बेग्लै हो । नहुने कुरा भइहाल्यो, अब अदालतको फैसला आउञ्जेल कुर्नुपर्छ । यदि म गल्ती रहेछु भने अदालतबाट खुलस्त भइहाल्छ । को कालो, को सेतो भन्ने कुरा अदालतबाट आइहाल्छ ।

० एक वर्षपछि आएर मुद्दा हाल्नुको कारण के हुनसक्छ ?
– गाउँपालिकामा मैले गरेको कामबाट धेरैलाई चित्त नबुझेको हुनसक्छ । नेपालमा सबै कुरा मानिदियो भने ठीक हुन्छ, मानिदिएन भने यस्तै बखेडा झिक्ने चलन नेपालभरि नै चलेको छ । हालिमुहालीमा हिडियो भने ठीकै छ । तर, म यही हालिमुहालीमा हिड्नका लागि अमेरिकन पासपोट त्यागेर नेपाल आएको होइन । म जत्तिको मान्छेले यहाँ केही परिवर्तन गरेर देखाउनुपर्छ । यो परिवर्तन देखाउने क्रममा केही साथीहरुलाई चित्त बुझाउन होला । मेरो चाहिँ समृद्ध खिजिदेम्बा, सुशासन र भ्रष्टाचार शुन्य र वैचारिक राजनीति हुनुपर्छ भन्ने मान्यता छ । जे भइरहेको छ, त्यो लज्जित छ, मुद्दामा जे लेखिएको छ, त्यो अझ लज्जित छ । राजनीतिको लामो यात्रा गर्ने मान्छेले त्यो लेख्ने होइन । फलानो गैरकानुनी हो, मलाई निर्वाचित घोषणा गरी पाउ भन्नु त्यो भन्दा रुन्चे के होला ? बाँकी म अदालतको फैसला शीरोपर गर्छु ।

० मुद्दा हाल्नेलाई के भन्नु हुन्छ ?
– धन्यवाद छ उहाँहरुलाई । किनभने मेरो गाउँपालिका र मेरो प्रचारप्रसार राम्रोसँग भएको छ । गाउँपालिकाको एउटा कुनामा म बख्खु लगाएर काम गरिरहेको हुन्थे, मलाई देश विदेशमा चिनाइदिनु भएको छ । मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सोधखोज गरिरहेको छ । यो अवसर त्यति सजिलै कहाँ प्राप्त हुन्छ ? मैले यसलाई अवसरको रुपमा लिएको छु ।