नेपालदेखि बङ्गलादेशसम्मको बाटो

नेपालदेखि बङ्गलादेशसम्मको बाटो

भारत छ र त्यति लाटो



६० किमी लम्बाइ, २२ किमी चौडाइको सिलिगुडी कोरीडोर (चिकेन नेक) लाई भारत आफ्नो सबैभन्दा कम्जोर भूमि ठान्छ । भारतको नक्सा हेर्ने हो भने एउटा कुखुराको शरीर जस्तो देखिन्छ । नक्साको बायाँतर्फ कुखुराको शरीर, बिचको भाग कुखुराको घाँटी (नक्सामा देखाइएको गोलो घेरा भित्रको भाग) अनि दाहिनेतर्फ कुखुराको टाउको जस्तो देखिन्छ । त्यही भएर सिलगुढी कोरीडोर क्षेत्रलाई चिकेन नेक पनि भनिन्छ । त्यसैले भारतले नेपाललाई लिपुलेक र कालापानीको जमिनको सट्टा बङ्ग्लादेश जोडने बाटो दिन्छ वा सट्टाभर्ना गर्छ भन्ने कथन नेपालका नेता र दलहरू का लागि राजनीतिक खपत बढाउने कुरा मात्र हो ।

हाल नेपालमा झापाको काकडभिट्टा नाकाबाट बङलादेश जोडने बाटोको चर्चा परिचर्चा सडकदेखि सदनसम्म चर्किएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले लिपुलेक र कालापानीको भुभाग भारतलाई दिएर काकडभिट्टा नाकाबाट बङलादेशसम्म जोडने सडकको जमिन सट्टाभर्नामा लिने भनेर प्रचार गरिएता पनि तथ्य र तथ्यांकले त्यसो भन्दैन ।

किनकि नेपालले सट्टाभर्नामा लिने भनेको जमिनको चौडाइ जम्मा २२ किमी मात्र छ । यसको उत्तरमा सिक्किम, भुटान, चीन पर्दछ । पश्चिममा नेपाल, दक्षिणमा बङलादेश छ भने पुर्वमा आसाम पर्द्छ । यही बाटोले भारतको पूर्वोत्तर राज्यहरु सिक्किम,आसाम, त्रिपुरा, अरुणान्चल, मिजोरम, नागाल्यान्ड, मणिपुर राज्यहरूलाई जोडदछ । साथै भारतको यी पूर्वोत्तर राज्यहरुलाई सेभेन सिस्टरको नामले पनि चिनिन्छ । यो चिकेन नेक क्षेत्र भारतको विशेष रणनीतिक महत्वको भएकोले भारतले यस ठाउँलाई बिशेष निगरानी गरीरहेको छ ।

किनकि भारतको मुख्य भूमिबाट यो राज्य टाढा पनि भएकोले यस ठाउँमा भारत सरकारले त्यति ध्यान दिन सकेको छैन । यस पूर्वोत्तर राज्यमा करिब ५करोड भन्दा बढी नेपाली भाषी लगायतका अन्य जात जातीको जनसंख्या छ । कथंकदाचित चीनसँग युद्ध भएको खण्डमा यो चिकेन नेक क्षेत्रलाई चीनले एक घन्टामै नियन्त्रण गर्न सक्छ भन्ने भारतको बुझाइ छ ।

यसो भएको खण्डमा भारतको ति पूर्वोत्तर क्षेत्रसँग सम्पर्क टुटछ भन्ने उसको आँकलन छ । किनकि यो क्षेत्रबाट तिब्बतको डोकलाम ३० किमी मात्र भएकोले त्यहाँ चीनले ठूलो संख्यामा सैनिक र बन्दोबस्तीका सामानसहित यो क्षेत्रलाई निगरानी गरिरहेको छ । जसको कारण भारत यो क्षेत्रलाइ कम्जोर र असुरक्षित ठान्छ । कथंकदाचित चीनसँग युद्ध भइ हालेको खण्डमा उसले पूर्वोत्तर राज्यलाई जोडन भारतको कलकत्ता बन्दरगाहबाट म्यानमारको सितवे बन्दरगाहलाई आफैले निर्माण गरेर जलमार्गले जोडेको छ भने म्यानमारको भूमि हुँदै भारतको मिजोरम राज्यसम्म आफैले राजमार्ग निर्माण गरी सो राज्यलाई भारतबाट बैकल्पिक मार्गमा जोडेको छ ।

त्यसैगरी भारतको भूमिबाट बङलादेश हुँदै यी राज्यहरूमा पुग्ने पहुचमार्ग बनाएको छ । साथै उसले यी राज्यलाई दीर्घकालीन समयलाई ध्यान दिएर छोटो बाटोबाट जलमार्गसम्म पहुँच पुर्याउनको लागि र ती राज्यहरुमा सहज रुपमा यातायात संचालन गर्न कै लागि मिजोरम, म्यान्मार, थाइल्यान्ड, सिङापुरसम्म जोडेर राजमार्गको बिस्तार गरिरहेको छ । यी पूर्वोत्तर राज्यहरूको सुरक्षाको लागि दुइवटा एयरबेस पनि स्थापना गरेको छ ।

यसरी भारतले यो सिलगुढी कोरीडोर क्षेत्रलाई बैकल्पिक भूमि र रणनीतिक महत्वको हिसाबले हेरिरहेको छ । त्यसैले भारतले नेपाललाई यस क्षेत्रको जमिन सट्टाभर्ना गर्ला वा बङलादेश जोडने बैकल्पिक सडक प्रयोग गर्न दिएर सहज बनाउला वा सहयोग गर्ला भनेर नसोच्दा राम्राे हुन्छ ।