राम्रो काम गरिरहेका मन्त्री किराँतीकै पद धरापमा

राम्रो काम गरिरहेका मन्त्री किराँतीकै पद धरापमा



काठमाडौं । कुनै पनि बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा आउन सक्छ । आएन भने उनलाई पदबाट हटाइने छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता बलियो बनाउन आफ्नै पार्टीका मन्त्री किराँतीको मन्त्री पद बली चढाउन लागेको बुझिएको छ ।

आफ्नै गाँस काटेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने गृहकार्यमा प्रधानमन्त्री दाहाल लागिपरेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउतसँगको पटकपटकको छलफल पछि जनमतलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय दिनको लागि अहिलेका मन्त्री सुदन किराँतीलाई राजीनामा गराउने वातावरण निर्माण गर्न प्रधानमन्त्री दाहाल जुटेका छन् ।

कांग्रेससँग नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीसहित माओवादीको भागमा पाँचवटा मन्त्रालय परेको थियो । ती मन्त्रालयहरुमा किराँतीबाहेक अरु कसैलाई चलाउन सक्ने अवस्थामा प्रधानमन्त्री दाहाल छैनन् । इमान्दारीता र सुशासनमा अब्बल देखिएका किराँतीबाट पार्टी र प्रधानमन्त्रीलाई सहयोग नहुने देखेपछि हटाउन खोजिएको चर्चा माओवादी भित्रै चलेको छ ।

समाचार स्रोतका अनुसार मन्त्री भएपछि पार्टीलाई गर्नुपर्ने आर्थिक व्यवस्थापन किन नगरेको भन्ने प्रश्नले घेरिन थालेपछि किराँती आफैं पनि मन्त्री पद त्याग गर्ने मनस्थितिमा पुगेको बताइएको छ । पछिल्लो समयमा मन्त्री किराँतीले सार्वजनिक रुपमै घुस लेनदेन सम्बन्धी दिग्दारी व्यक्त गर्न थालिसकेका थिए ।

किराँती नै किन ?
गृह, ऊर्जा जलस्रोत र सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला मन्त्रालय माओवादीको भागमा परेको थियो । पार्टीभित्रै प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका र भौतिक पूर्वाधार मन्त्रालयमा असन्तुष्टी जनाएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइयो । अब गृहमन्त्री श्रेष्ठलाई चलाउन सक्ने अवस्थामा प्रधानमन्त्री दाहाल छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा महिला मात्र होइन, पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको भरोसा समेत हो । प्रधानमन्त्री दाहाल उपाध्यक्ष महराको वचन हार्न सक्दैनन् ।

प्रधानमन्त्री दाहालकै किचेन क्याविनेटमा तामे डाडू लिएर बसेका ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतलाई हटाउने कुरै भएन । पार्टीलाई आवश्यक पर्ने आर्थिक व्यवस्थापनकै लागि बस्नेतलाई उक्त मालदार मन्त्रालय जिम्मा लगाइएको हो । पैसा भएन भने पार्टीका लागि आउँदा दिन अझ कठिन हुने विश्लेषणसहित बस्नेतलाई ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मा लगाइएको बुझ्न गाह्रो छैन । यो परिवेशमा मन्त्री बस्नेतलाई हटाउने त कुरै भएन ।

प्रधानमन्त्री दाहालले आफ्नो सत्ता बलियो बनाउन संघीय मामिला र सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँतीमध्ये एकजनालाई बली चढाउन चाहेका थिए । इमान्दारीताका साथ भूमिका निर्वाह गरिरहेका किराँती पार्टीको स्वार्थ अनुसारको जिम्मेवारी पूरा नगर्ने र सामाजिक सञ्जाल, मिडियामा छाइरहने हो भने यसले दीर्घकालमा पार्टीलाई कुनै फाइदा नपुग्ने निष्कर्ष प्रधानमन्त्री दाहालको किचेन क्याविनेटले निकालेको थियो ।

उता, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई रिझाउन मोदीले ठूलै कसरत गरेको बुझिन्छ । आफ्नो जिम्मेवारीसँगै पार्टीको निर्देशन इमान्दार रुपमा निर्वाह गर्ने मोदी प्रचारमा आउन खासै चाहदैनन् । अर्कोतर्फ, थारु समुदायको प्रतिनिधित्वका लागि भए पनि मोदीलाई तत्काल चलाउन दाहालले चाहेका छैनन् ।

पार्टीका लागि दुर्भाग्य
आदिवासी, जनजाति, महिला र पिछडिएका जनताका नाममा राजनीति गरेर सत्तामा पुगेका प्रधानमन्त्री दाहालले सरकारमा राम्रो काम गरिरहेका किराँतीलाई नै बलीमा चढाउन खोज्नु रहस्यमय छ । आदिवासी जनजातिसम्बन्धी अध्ययता कुमार यात्रु भन्छन्, ‘मन्त्री किराँतीलाई हटाउने चर्चा यदि सत्य हो भने त्यो माओवादी पार्टीका लागि दुर्भाग्य हो । मन्त्री किराँतीले पार्टीलाई आर्थिक सहयोग उपलब्ध गराउन नसके पनि उनका गतिविधिले माओवादीको प्रतिष्ठालाई एउटा उचाईमा पु-याएका थिए । भ्रष्टिकरण भएको हाम्रो राजनीतिमा इमान्दार यहाँ टिक्न सक्दैन, त्यसैको एक उदाहरण हुनेछन् मन्त्री किराती ।’