राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भोलि डिस्चार्ज गरिने

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भोलि डिस्चार्ज गरिने



काठमाडौं । बाँसबारीमा रहेकाे शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज मङ्गलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले डाक्टरकाे सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेललाई भाेलि बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँ रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए ।