राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात पुष्टि भएको छ । मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयघात भएको भेटिएको हो ।

उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए ।

राष्ट्रपति पौडेललाई बिहान ४ बजेबाट श्वासप्रश्वासमा समस्या आउन थालेपछि आज अस्पताल लगिएको थियो ।

पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार गराइएको छ। उनको २४ घन्टा अस्पताल राखेर बुधबार डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।