कायममुकायम ईश्वर

कायममुकायम ईश्वर



भगवान !
केही पेग पिउनको निमित्त
सुरुमा मेरी प्यारीको अनुमति लिन पाऊँ
अनि मेरो अन्तिम पेग सकिनेछ जब
ठीक त्यतिखेर मलाई दिनुहोस्
तपाईंका सम्पूर्ण शक्तिहरु
र हेर्नुस्
मदले मस्त मातेको मान्छे मैले
यो संसार कसरी ठीकठाक पार्दिन्छु
यो संसार कस्तो हुनु पर्ने थियो देखाइदिन्छु
तपाईंको भन्दा सुन्दर सृष्टि बनाइदिन्छु
तपाईंभन्दा अब्बल ईश्वर
म बनिदिन्छु ।

जीवनका साना मसिना खेलहरु हुन्
या हुन् विश्वकपका ठूल्ठूला खेल
म जित्नेहरुलाई बधाई भनिराखेर
हार्नेहरुको आँसुपक्षको ईश्वर बनिदिन्छु
मन परापर भएर मुटु साटासाट हुने नीतिमा
म प्रेम पाउनेहरुलाई शुभकामना दिइराखेर
एक तर्फी प्रेमले पिल्सेकाहरुको दैव बनिदिन्छु
रङ्गिचङ्गी र झिलिमिली जिन्दगीहरुमा
म सुन्दर रुप हुनेहरुलाई प्रशंसा गर्दिराखेर
रुपले ठगिएकाहरुको
साँझ विहानको ऎना बनिदिन्छु
बजार ब्यापार र हिसाबकिताबमा
म धन भएकाहरुलाई धाप मारिराखेर
गरिबीले निद्रा बिथोलिएकाहरुको
शान्ति बनिदिन्छु
शक्ति सत्ता र भोगचलनहरुमा
म बलियाहरुलाई आशिष दिइराखेर
कमजोरहरुको पलपलको इष्टदेव बनिदिन्छु
म त सारै सरल बुझिने र कोमल दिलको
ईश्वर बनिदिन्छु
म त भावनाले नै संसार चलाइदिन्छु
म त नारान् दाईका गीतहरु झैँ
प्यारो प्यारो बनिदिन्छु

र अन्तमा….
पिउनेहरुलाई त्यति मात्रै
पिउन सक्ने बनाईदिन्छु
जति पिउँदाखेरी ऊ
फूल झैँ मुस्कुराउँछ र खुसी हुन्छ
जति पिउँदाखेरी ऊ
मान्छेबाट पशु
र पशुबाट दैत्य हुँदैन ।