होन्डुरसको महिला कारागारमा दंगा हुँदा ४१ कैदीको मृत्यु

होन्डुरसको महिला कारागारमा दंगा हुँदा ४१ कैदीको मृत्यु



काठमाडौं । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किँदा ४१ जना कैदीको मृत्यु भएको छ । न्युयोर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो ।

सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश पीडित जलेका छन् भने अरुलाई गोली लागेको छ । मोराका अनुसर राजधानी तेगुसिगाल्पा नजिकैको तामारामा रहेको हिरासतमा अनुसन्धानकर्ताहरूले खोजी गर्दा मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

‘यत्रो मानवीय घटनाप्रति हामी स्तब्ध छौँ,’ सुरक्षा उपमन्त्री होन्डुरन पेनटेन्शियरी सिस्टमका प्रमुख जुलिसा विलानुभाले एक पत्रकार सम्मेलनमा भने ।

यस्तै, घटना सन् २०१९ मा पनि घटेको थियो जुन झडपमा ४० गिरोह सदस्यको मृत्यु भएको थियो । न्युयोर्क टाइम्सका अनुसार मङ्गलबारको घटनामा मृत्यु हुनेको सङ्ख्याले अमेरिकी देशमा नराम्रो परिदृश्य उदाङ्गो पारेको छ ।

महिला कारागारमा हालैका वर्षहरूमा हत्या (हिंसाका घटनाहरू बढेका छन्, जहाँ दुई प्रतिद्वन्द्वी आपराधिक सङ्गठनका महिला गिरोह सदस्यहरूबीचको भिडन्तमा थुप्रै कैदीहरूलाई घाँटी थिचिएको छ भने कसैलाई छुरा प्रहार गरिएको छ ।

राष्ट्रपति जिओमारा क्यास्ट्रोले यस घटनापछि आफू स्तब्ध भएको र जिम्मेवार अधिकारीहरूलाई जवाफदेही बनाउन कडा कदम चाल्ने बताएका छन् ।

ह्युमन राइट्स वाचद्वारा सन् २०२१ को होन्डुरसको प्रतिवेदनअनुसार कारागारहरूमा अत्यधिक भिडभाड, अपर्याप्त पोषण, कमजोर सरसफाइ, कुटपिट, अन्तर–सामूहिक हिंसा र बन्दी हत्याहरू चरम अवस्थामा छन् ।

न्युयोर्क टाइम्सका अनुसार एक सरकारी अधिकारीका अनुसार होन्डुरसको नेसनल वुमेन्स पेनिटेन्शियरी फर सोशल एडप्टेसनमा लगभग ८०० कैदीहरूलाई राखिएको छ । यो सङ्ख्या क्षमताभन्दा लगभग दोब्बर हो ।

मानव अधिकारसम्बन्धी अन्तर–अमेरिकी आयोगले सन् २०२० मा होन्डुरन जेलहरूमा थुप्रै हिंसात्मक घटनाहरू भएको देखाएको छ ।